सद्भावको अलख जगाउने डा. विमल
gorkhapatraonline.com · Tue Sep 29 05:25:31 GMT 2026

नेपालीय मिथिला क्षेत्रमा अझ जनकपुरमा वाङ्मयको गुरुकूल परम्परा र संस्कार डा. विमलको महाप्रयाणसँगै अन्त्य भएको छ भन्नु अतिशयोक्ति नहोला । मिथिलाको जीवन, समाज र वाङ्मयका एक अप्रतिम ज्ञानगङ्गा हुनुहुन्थ्यो विमल, उहाँको महाप्रयाण हुनु अत्यन्त मर्मान्तकारी छ ।
भाषा, साहित्य, कला, संस्कृति, समाजशास्त्र, लोकसाहित्य, पूर्वीय र पाश्चात्य दर्शन आदि विषयको जिज्ञासा शान्त गर्न जिज्ञासुहरू उहाँकै जनकपुरधाम–१०, देवीचौकस्थित घरमा पुग्थे । जो गुरुकुल जस्तै थियो । साहित्यिक संस्था, साहित्यकार, पत्रकार, शोधकर्ता तथा जनकपुरवासीले औधी माया गरेका थिए, उहाँलाई । नयाँ पुस्ताले उहाँलाई ‘बाबूजी’ सम्बोधन गर्थे । डा. विमलको व्यक्तित्व यस्तो थियो कि उहाँसँग भेट्न आउने र भेट्ने जोकोहीले आआफ्नो जिज्ञासाका अनुरूप केही विशिष्ट प्राप्ति गर्थे । उहाँ एक यस्तो संस्था हुनुहुन्थ्यो, जहाँ कलाकार, गायक, विद्यार्थी, नेता, व्यापारी, कर्मचारीलगायतको आवतजावत सधैँ भइरहन्थ्यो । महिलाहरूको जिज्ञासालाई पनि उचित मार्गदर्शन गर्नुहुन्थ्यो । उहाँको सहजता र विनम्रताले उहाँको विद्वत्तालाई झन् गरिमामय बनाउँथ्यो । आउनेहरू कहिल्यै खाली हात फर्कनु पर्थेन, सम्भवतः तर गुरुकुलको उक्त संस्कार अब अतीत भएको छ । उहाँको महाप्रयाण एउटा यस्तो रिक्तताको आविर्भाव हो, जसको बोध समय सँगै झनै प्रगाढ हुँदै जाने छ । यद्यपि उहाँ सदैव हाम्रो स्मृतिमा, हाम्रो साहित्यिक चेतनामा र हाम्रो सामूहिक संस्कारमा बाँचिरहनुहुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)