खाद्यान्न अभाव नहुने
gorkhapatraonline.com · Tue Sep 29 04:59:55 GMT 2026

कर्णाली प्रदेशमा यस वर्ष खाद्यान्न अभाव नहुने भएको छ । अघिल्ला वर्षमा चाडपर्वको मुखैमा हुने खाद्यान्न अभाव यस पटक नहुने भएको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँतिहार र छठको अवधिमा कुनै पनि खाद्यान्न अभाव हुन नदिने जनाएको छ । खास गरी माथिल्लो कर्णालीका केही जिल्लामा बर्सेनि खाद्यान्न अभाव हुने गरेको छ । स्थानीय उत्पादन कम हुने ती जिल्लामा आयातित खाद्यान्नको भर पर्नुपर्ने बाध्यता छ । जसले गर्दा चाडपर्वकै समयमा खाद्यान्न अभाव भएर नागरिकले समस्या भोग्दै आएका थिए । दसैँ र तिहारअघि नै कर्णालीका माथिल्लो जिल्लामा खाद्यान्न ढुवानी भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश प्रादेशिक कार्यालयका प्रमुख केशव बुढाले बताउनुभयो । हुम्लामा मात्र दसैँअघिसम्म खाद्यान्न पुर्याउने काम भइरहेको उहाँले जानकारी दिनुभएको छ । शाखा सिमकोट, डिपो सर्केगाड र श्रीनगरमा स्टक खाद्यान्न राखिएको छ ।