एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्षमा नेपाल, वाग्लेले सम्हाले जिम्मेवारी
arthasansar.com · Tue Sep 29 06:21:36 GMT 2026

नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गैर-क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकका अवसरमा नेपाललाई आगामी एक वर्षका लागि उक्त जिम्मेवारी दिइएको हो।
एआईआईबीको संगठनात्मक संरचनाअनुसार बैंकमा एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकबाट एक/एक जना उपाध्यक्ष रहने व्यवस्था छ। यसपटक गैर–क्षेत्रीय सदस्य समूहबाट नेपालसँगै आयरल्याण्ड पनि उपाध्यक्षका रूपमा चयन भएको छ । वार्षिक बैठकका अवसरमा अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्लेले गैर–क्षेत्रीय उपाध्यक्षको जिम्मेवारी औपचारिक रूपमा ग्रहण गरेका छन् । बैठकको दोस्रो दिन आयोजित ‘गभर्नर्स बिजनेस राउण्डटेबल’लाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले पूर्वाधारमार्फत हुने पूँजी निर्माण कम विकसित मुलुकहरूको आर्थिक वृद्धिको प्रमुख स्रोत रहेको बताए। उनले सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिजस्ता उत्पादनका प्रमुख साधनमा लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए। नेपालजस्ता विकासशील मुलुकहरूको विकास आवश्यकता र प्राथमिकतासँग मेल खाने गरी एआईआईबीको लगानीलाई थप सहुलियतपूर्ण बनाउनुपर्नेमा पनि उनले जोड दिए।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)