विराट एग्री लिमिटेडले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त
arthasansar.com · Tue Sep 29 06:30:12 GMT 2026

विराट एग्री लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन गर्नको लागि संस्थागत परामर्श सेवा सहित एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ। इटहरी – १३, सुनसरीमा रहेको यस कम्पनी नेपालको कृषि तथा एक्वाकल्चर क्षेत्रलाई व्यावसायिक, आधुनिक तथा दिगो ढाँचामा विकास गर्ने उद्देश्यले स्थापना भएको हो । कम्पनीले मोरङ र सुनसरी जिल्लामा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै देशका ठूला तथा व्यवस्थित व्यावसायिक मत्स्य फार्ममध्ये एक अग्रणी व्यावसायिक मत्स्य फार्मका रूपमा अघि बढिरहेको छ । कम्पनीले इटहरी – १३, खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक फिस फिड प्लान्टमार्फत आफ्ना परियोजना तथा बजारका लागि विभिन्न प्रकारका तैरिने र डुब्ने माछाका दाना उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
कृषि तथा मत्स्यपालन क्षेत्रको सम्पूर्ण मूल्य शृङ्खलालाई एकीकृत गर्दै उत्पादन, प्रशोधन, प्याकेजिङ तथा बजारीकरणलाई थप व्यवस्थित र व्यावसायिक बनाउने दीर्घकालीन योजनाअनुरूप कम्पनीले प्रस्तावित सार्वजनिक शेयर निष्कासनबाट प्राप्त पूँजीलाई उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा परिचालन गर्दै आगामी दिनमा विभिन्न महत्वपूर्ण परियोजना अघि बढाउने लक्ष्य लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)