चट्टानले थुनियो मर्स्याङ्दी, ताल बनेपछि नदी खुलाउन विस्फोटको तयारी
kalakarmi.com · Tue Sep 29 07:39:04 GMT 2026

काठमाडौं- अविरल वर्षापछि गएको आइतबार घट्टेखोलामा लेदोसहित बगेर आएको ढुङ्गा, गिट्टी र बालुवाले थुनिएको मर्स्याङ्दी नदीको बहाव खुलाउन थालिएको छ । नदी थुनिएर बनेको तालका कारण आसपासका बस्ती जोखिममा परेपछि स्थानीय प्रशासनले उपलब्ध स्रोतसाधन प्रयोग गरेर नदीको बहावलाई पुरानै धारमा फर्काउने प्रयास थालेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार नदीको धार परिवर्तन गरेर पानी आंशिक रूपमा बगिरहेको छ । घटनास्थलमा उपलब्ध एक्स्काभेटरलगायतका उपकरण प्रयोग गरी नदी थुनिएको क्षेत्रमा काम सुरु गरिएको उनले जानकारी दिए । ‘धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ । यहाँ उपलब्ध एक्स्काभेटरलगायतका सामग्री उपयोग गरी केही मात्रामा काम प्रारम्भ भएको छ,’ उनले भने, ‘ठूला चट्टान फुटाउनुपर्ने देखिएको छ । यसका लागि तयारी पनि भइरहेको छ ।’ उनका अनुसार नदीले पुलमाथिबाटै धार परिवर्तन गरेपछि आसपासका केही घर डुबानमा परेका छन् । नदीको बहाव पूर्ण रूपमा नियमित हुन नसकेका कारण तटीय क्षेत्रमा थप जोखिम कायमै रहेको प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)