मर्स्याङ्दी खुलाउन थालियो
gorkhapatraonline.com · Tue Sep 29 11:14:11 GMT 2026

मनाङ, असोज १३ गते । चामे बजार क्षेत्र हुँदै बग्ने घट्टे खोलामा गत आइतबार आएको बाढीपहिरोले ठूलो परिमाणमा लेदो र गेग्य्रान बगाएर मर्स्याङ्दीमा थुपारेपछि थुनिएको नदी खुलाउन थालिएको छ । नदीमा थुप्रिएको हिलो, बालुवा र गेग्य्रान हटाउन मङ्गलबारदेखि एक्स्काभेटर, डोजरसहित तीन मेसिन परिचालन गरिएको छ । सकेसम्म विस्फोटक पदार्थ प्रयोग नगरी नदीको बहाव खुलाउने प्रयास भइरहेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । ‘‘अहिले मेसिन प्रयोग गरेर पानीको बहाव घटाउने र नदीको बाटो फराकिलो बनाउने काम भइरहेको छ,’’ प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले भन्नुभयो, ‘‘बजारका घर र पुललाई असर पर्ने देखिएकाले तत्काल विस्फोटक पदार्थ प्रयोग नगर्ने निर्णय गरेका छौंँ । अरू उपायबाट सम्भव नभए मात्रै विस्फोटक प्रयोग गर्ने हो ।’’
बाढीपहिरोसँगै आएको लेदो, हिलो र गेग्य्रानले आंशिकरूपमा थुनिएको मर्स्याङ्दी नदी खुलाउन चामेमा एक्स्काभेटर र डोजरसहित तीनवटा मेसिन परिचालन गरिएको छ । बजारका केही घर र पुलमा असर पर्ने भएकाले तत्काल विस्फोटक पदार्थ प्रयोग नगरी नेपाली सेना, सुरक्षा निकाय, जनप्रतिनिधि र स्थानीयले नदीको बहाव फराकिलो बनाउने काम गरिरहेका छन् । नदीको बहाव घट्दै गए पनि पुल र आसपासका घर जोखिममा छन् भने आवतजावत सहज बनाउन घट्टे खोलामा अस्थायी पैदल पुल निर्माण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)