भोटेकोशीको बाढीःजाने त गए बाँच्नेहरूको मन अझै पनि बाँचेको छैन
newsofnepal.com · Tue Sep 29 12:48:17 GMT 2026

गत भदौ १० गते भोटेकोशीको महाप्रलयकारी सुनामी बाढीले १६ बर्षिय रञ्जिता थापाका बुवा आमासहित सात जना परिवारलाई एकै चिहान बनाएपछि उनी अहिले एक्लो जीवन बिछिप्त अवस्थामा छिन् । उत्तरगया पब्लिक माविमा बिहानको ट्युसन कलास सकेर कक्षा कोठामा जाने क्रममा रञ्जिताले बिद्यालयको गेटमा पुग्ना साथ भोटेकोशीको बाढीको मुस्लो देखिन । अनि उनी फनक्क फर्केर जंगलतिर उकालो लागिन । रसुवाको बेत्रावती सेयाली जंगलमा पुग्दा नपुग्दै उनका बुवा, आमा हजुरुबुवा, हजुर आमा र दाजु समेतलाई बाढीले घरसहित बगाइसकेको थियो । रञ्जिता पांच मिनेट भित्र सिस्नो समाउदै सुरक्षित स्थानमा पुगेर तलतिर हेर्दा आफनो प्यारो परिवारसहित सबै घरवार थिएन । बुवा आमा रहनुभएको घरमाथि बाढी उर्लिरहेको देख्न साथ रञ्जिता आफूलाई थाम्न नसकेर त्यही ढलिन् । बुवा श्याम थापाले बिहान खाजा खान दिएको पैसा, आमा जमुना रानाले कतै नभुली कक्षा सकिन साथ आए है आज तिमी र म एक ठाउं जानु छ भनेको कुरा र हजुर आमाले स्कुलबाट फर्किनासाथ मेरो काला आयो के खाजा खान्छिउ भन्ने गरेको कुरा सम्झिँदै आज पनि उनका आंखावाट बर्बर्ती आँशु खस्छन । एक जना दाजु नीराजन थापा बाहिर क्रोएसिया छन् उनले बहिनीलाई निरन्तर फोन गरेर सम्झाउने त गर्छन् तर परिवारकी सबै भन्दा कान्छी सदस्य रञ्जितालाई अहिले पनि हजुर आमाले काखमा राखेर ख्वाउन पाए खुशी हुने कुराले सम्झाइरहने गरेको छ ।
काखमा राखेको आमाले तरकारी किन्न जाँदा पनि सँगै लैजाने जस्ता धेरै कुरा सपनामा देख्ने गरेकी रञ्जितालाई राम्ररी निद्रा पनि लाग्ने गरेको छैन । भोटेकोशीको बाढीले आफ्नो परिवार बगाएपछि ठुला वुवा डोलवहादुर थापाको घरमा बस्दै आएकी रञ्जितालाई केही सोध्यो कि भक्कानिएर रुन थाल्छिन् –ठुलो वुवा ठूलो मामीकी छोरी बविसा थापा बहिनी रञ्जिताको भविष्य के हुने हो भन्नै सकिएको छैन जति सम्झाएपनि बुवा आमा हजुर वुवा , हजुर आमाले माया गर्दा भन्ने गरेका कुरा सम्झिँदै भक्कानिने गरेको सुनाउँछिन् । एनआरएनए युकेका अध्यक्ष प्रेमगाहा मगरले बाढी प्रभावितलाई प्रधानमन्त्री राहत कोषमा पठाए कहाँ जान्छ टुंगो हुँदैन त्यसैले बाढी पीडितहरुको हातमा नै प्रति व्यक्ति १० हजार रुपियाँ र जाडोको लागि न्यानो कपडा लिएर नुवाकोट पुगेको बेला दिदी बबिसा थापासंग सहयोग लिन नुवाकोटको गंगटेपार्क पुगेकी रञ्जिताले रुदै प्रश्न गरिन– अब मैले आफूलाई कसरी सम्हालूँ ?मेरो प्यारो परिवारसंगै –आफू पनि गएको भए त हुन्थ्यो नि भन्ने हुन्छ । बाढीले परिवार वगाएको एक महिना भइसक्यो तर यो समय कसरी बित्यो मलाई नै थाहा छैन । उत्तरगया माविमा पढ्दै थिएं आज न त्यो स्कुल छ न पढाइ छ भविष्य नै कसरी बित्ने भन्ने टुंगो छैन के पाप गरेकी थिए र आज मैले यस्तो भाग्नुप¥यो , के गल्ती गर्नुभएको थियो र आज मेरो परिवार रहनुभएन । मेरो घरसहित छिमेकी सबैको घर बगरमा परिणत भएको छ आज ती हाम्रा लागि दरवार सरी रहेका घरहरुमा त्रिशूली बगिरहेको छ मेरा साथीहरु कहाँ छन् , कतिलाई बाढीले बगायो त्यो पनि थाहा छैन । अब म कसरी बांचु ? भन्दै रञ्जिता थचक्क बस्छिन् र आशुका धारा धाम्नै सक्दिनन् अनि हामीले धेरै सोध्न पनि खोजेनौ । उनको कालो धब्बा लागेको छ उनलाई देख्ने जो कसैले उनलाई देख्न साथ थाहा हुन्छ निकै पीडामा बाँचेकी छन् तर कसरी बाँचेकी छिन उनी आफै भन्न सक्दिनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)