मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा बसपार्कका सुकुम्बासीसँगै सारिँदै सहारा स्कुल

gorkhapatraonline.com · Sun Jun 07 14:11:36 GMT 2026

पोखरा बसपार्कका लागि अधिग्रहण गरिएको जग्गामा करिब छ सय सुकुम्बासीका घर–टहरा छन् । त्यहाँका बालबालिकाको शिक्षाका लागि सोही जग्गामा सहारा आधारभूत विद्यालय पनि सञ्चालनमा छ । पोखरा महानगरपालिकाले त्यहाँका सुकुम्बासीका घर–टहरा हटाउने तयारी गरेसँगै सो विद्यालय पनि सँगै सारिने भएको छ ।

कक्षा ८ सम्म पढाइ हुने यस विद्यालयमा यसअघि २४० विद्यार्थी अध्ययनरत रहेकोमा बस्ती खाली गरिने सूचना सार्वजनिक भएपछि विद्यार्थी सङ्ख्या घटेर १५० को हाराहारीमा झरेको छ । विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विक्रम थकालीले सहारा स्कुलमा अधिकांश सुकुम्बासी बस्तीका बालबालिका र केही बाहिरका विद्यार्थी पढ्ने गरेको बताउनुभयो ।

वि.सं. २०५३ मा स्थापना भएको यस विद्यालयमा प्राथमिक तहका आठ जना दरबन्दीका शिक्षक भए पनि आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ । यो पोखरा नगर क्षेत्रमै धेरै विद्यार्थी भएको आधारभूत विद्यालयमा पर्ने महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताउनुभयो ।

“त्यहाँ पढ्ने बालबालिका बसपार्क क्षेत्रका मात्र छैनन्,” उहाँले भन्नुभयो, “बसपार्क क्षेत्र खाली गराउँदा विद्यालय पनि पर्छ । तर विद्यार्थी व्यवस्थापनको तयारी भइसकेको छ ।” महानगरले आवश्यक प्रबन्ध नगरी विद्यालय नहटाउनेमा आश्वस्त हुन प्रमुख धनराज आचार्यले आग्रह गर्नुभयो ।

सहारा स्कुलबारे सर्वसाधारणको चासोप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रमुख आचार्यले भन्नुभयो, “बसपार्क क्षेत्रभित्रका टोलमा बसोबास गरिरहनुभएका परिवारलाई व्यवस्थित संयुक्त आवासमा स्थानान्तरण गर्ने महानगरको योजना छ । सोही योजनाअन्तर्गत सहारा आधारभूत विद्यालयलाई पनि नयाँ बस्तीमै थप व्यवस्थित र आधुनिक रूपमा स्थानान्तरण गरिने छ ।”

महानगरले पृथ्वीचोकको २०५ रोपनी जग्गाको अतिक्रमण हटाउने तयारी गरेको छ । महानगरपालिका आफैँले घर–टहरा हटाउन दिएको समयसीमा आइतबार सकिएको छ । महानगरको चेतावनी (अल्टिमेटम) पछि केही अव्यवस्थित बसोबासीले आफ्ना घर–टहरा भत्काएका छन् भने जग्गाधनी पुर्जा भएका केही जग्गाधनीले अदालत गुहारेका छन् ।

महानगरले जग्गा खोजीका लागि वडा नम्बर १७ की अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो । समितिले महानगरका छ ठाउँमा सुकुम्बासीको व्यवस्थापन गर्न सकिने सुझावसहितको प्रतिवेदन बुझाइसकेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)