झारफुकको नाममा दिइएको यातनाले राजधानीमै १४ वर्षीया बालिकाको मृत्यु
nayapatrikadaily.com · Mon Jan 10 00:32:00 GMT 2022
झारफुकका क्रममा दिएको शारीरिक यातनाका कारण संघीय राजधानी काठमाडौंमै एक बालिकाको ज्यान गएको छ । सिन्धुपाल्चोक साँगाचोक गाउँपालिका– २ की १४ वर्षीया बालिका रोशनी श्रेष्ठको मृत्यु भएको हो । प्रहरीले झारफुकमा संलग्न माता भनिने ४८ वर्षीया उमा शाही ठकुरीलाई पक्राउ गरेको छ ।रोशनी शनिबार बिहान ६ बजे बालाजु रानीवन पानीट्यांकीस्थित उमाको झारफुक केन्द्रमा अचेत फेला परेकी थिइन् । त्यसलगत्तै उनलाई परिवारले उपचारका लागि स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पताल लगेको थियो । मृतक बालिकाका मामा धनबहादुर श्रेष्ठका अनुसार चिकित्सकले चार घन्टाअघि नै रोशनीको मृत्यु भएको बताएका थिए ।
‘भान्जी बेहोस भएको खबर पाउनासाथ बहिनी (रोशनीकी आमा)सहित परिवारका सदस्य शनिबार माताकहाँ पुगे । बेहोस अवस्थामा भेटिएकी भान्जीलाई उपचारका लागि अस्पताल लगियो । डाक्टरले चार घन्टाअघि नै भान्जीको मृत्यु भएको जानकारी दिए,’ धनबहादुरले नयाँ पत्रिकासँग भने ।धनबहादुरका अनुसार मृतक रोशनीको शरीरभरि नीलडाम छ । खुट्टा, पिँडुला र तिघ्रामा त्रिशूलले रोपेका प्वाल छन् । टाउको र अनुहारमा पनि नीलडाम छन् । ‘भान्जीको शव हेरेँ । शरीरभरि नीलडाम छ । एकै ठाउँ तीन–तीनवटा त्रिशूलका प्वाल छन् । अनुहार, टाउको, ढाड, पिँडुला, नितम्ब सबै ठाउँ चोटले भरिएका छन्,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)