सरकारी बजेटमा दोब्बर स्रोत जुटाएर ब्याडमिन्टन कभर्डहल निर्माण
ratopati.com · Sat Jan 31 23:44:52 GMT 2026
म्याग्दी। बेनी नगरपालिका–४ डामडाँडामा ब्याडमिन्टन कभर्डहल निर्माण भएको छ । वडा कार्यालय, समुदाय र प्रवासमा रहेका स्थानीयवासीको रु २० लाख बढी लगानीमा ब्याडमिन्टन कभर्डहल निर्माण भएको हो । नवनिर्मित कभर्डहलको शनिबार उद्घाटन गरिएको छ । कभर्डहलको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले पछिल्लो समय लोकप्रिय खेलका रूपमा विकास हुन थालेको ब्याडमिन्टन खेल अभ्यास तथा प्रतियोगिता सञ्चालनका लागि कभर्डहलले सहयोग पुग्ने बताइन्।
उनले सरकारी बजेटमा करिब दोब्बर सहयोग र श्रमदान जुटाएर खेलकुद पूर्वाधार निर्माण गरी स्थानीयवासीले उदाहरणीय कार्य गरेको बताइन् । आर्थिक वर्ष २०७९/८० देखि निर्माण सुरु भएको कभर्डहल निर्माणले पूर्णता पाएसँगै ब्याडमिन्टन खेलाडी उत्साहित बनेका छन् । कभर्डहलको पूर्वाधार निर्माण गर्न दुई वर्षमा गरी वडा कार्यालयबाट रु सात लाख बजेट विनियोजन भएको थियो भने स्थानीयवासीले देउसीभैलोबाट रु दुई लाख एक हजार ३०८ र प्रवासमा रहेका स्थानीयवासीबाट रु ११ लाख ६२ हजार ८०२ थप सहयोग गरी रु २० लाख ६४ हजार ११० खर्च भएको कभर्डहल निर्माण अभियानका संयोजक सुमन गुरुङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)