लाठीको न्याय
annapurnapost.com · Wed Sep 14 00:32:00 GMT 2022
दिन दुईगुना रात चौगुनाका हिसाबले ऋण बढाउँदै लगेर जायजेथा नै दिँदा पनि चुक्ता नहुने बनाउने सुदखोरहरूका कारण थुप्रै मानिसको जीवन अत्याचारको भुंग्रोमा पिल्सिएको छ। महोत्तरीको मटिहानी नगरपालिका–१ सानो धिरापुरका ५० भन्दा बढी घरपरिवारलाई अचेलको भाषामा मिटरब्याजी साहु सुदखोरले दिएको अत्याचार कहालीलाग्दो छ। ४० किलो चामल ऋण लिएको एउटा परिवारले भएभरको जायजेथा दिइसक्यो तर ऋण चुक्ता भएन। ऐलानी जमिनमा बास बस्दा त्यसलाई पनि साहुले नै नापजाँच गराई आफ्नो नामको बनायो। ४० किलो चामल त्यो पनि परिवार बिरामी हुँदा छाक टार्न लिएको ऋण। त्यसबापत ३२ हजार रुपैयाँ फिर्ता गरेर नपुगेपछि सारा सम्पत्ति दिँदा पनि सुख भएन। र, ५५ वर्षीया तेत्री देवीको परिवार घर न घाटको भएको छ।
कसैले २५ सयको ४५ हजार तिर्दा पनि थप ७ लाखको तमसुकमा सही गर्न बाध्य भए। त्यही तमसुकका आधारमा अदालतमा मुद्दा खेपिरहेका छन्। सुदखोरहरू दुईचार पैसा दिन्छन् र त्यही बहानामा ठुल्ठूलो पैसाको तमसुक बनाउँछन्। पैसा तिरे पनि तमसुक च्यात्दैनन्। अनि जायजेथा असुल्छन्। त्यसले पनि नपुगेर हरूवाचरुवाका रूपमा मजदुरी गराउँछन्। अझै भएन भनेर अदालतमा मुद्दा पनि तिनै सुदखोर हाल्छन्। सके थुनाउँछन्। ती मिटरब्याज पीडितलाई थाहा छैन, न्याय कहाँ पाइन्छ ? न्याय पनि तिनै सुदखोरहरूको मुठीमा छ। किनकि तिनीहरू नै जान्नेसुन्ने छन्। लेखपढ गर्ने तिनै छन्। कानुनका छिद्र देख्ने आँखा उनीहरूसँगै हुन्छ। अनि कागजात बनाउँछन् र अड्डा अदालतमा मुद्दा हालेर उल्टै पासो लगाइदिन्छन्। अर्थात् महोत्तरीमा टाठाबाठालाई चैन र निर्धा निमुखालाई ऐन छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)