तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
ratopati.com · Thu Jun 04 14:22:50 GMT 2026

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन देशका विभिन्न तराई क्षेत्रहरूमा तातो हावाको लहर (हीट वेभ) तथा अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै बिहीबार सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार मधेस र लुम्बिनी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यम स्तरको तातो हावाको लहर चल्ने सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा तातो दिन (हट डेज) अनुभव हुन सक्ने बताइएको छ।
विभागका अनुसार प्रभावित क्षेत्रका केही स्थानमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा माथि पुग्न सक्ने सम्भावना रहेको छ। अत्यधिक गर्मी र तातो हावाको प्रभावले मानव स्वास्थ्यमा सामान्यदेखि गम्भीर समस्या देखिन सक्ने भएकाले विशेष सावधानी अपनाउन प्राधिकरणले अनुरोध गरेको हो।
प्राधिकरणले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लालाई उच्च सतर्कता अपनाउनुपर्ने क्षेत्रका रूपमा उल्लेख गरेको छ। त्यस्तै झापा, मोरङ, सुनसरी, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कैलाली र कञ्चनपुर जिल्लामा पनि अद्यावधिक मौसम जानकारीको निगरानी गर्न आग्रह गरिएको छ ।
अत्यधिक गर्मीका कारण शरीरको तापक्रम बढ्ने, अत्यधिक थकान, कमजोरी, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने तथा बान्ता जस्ता समस्या देखिन सक्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणले चर्को घाम लागेको समयमा घरबाहिर ननिस्कन, बाहिर जानुपरे छाता वा टाउको ढाक्ने व्यवस्था गर्न, हल्का रङका खुकुला कपडा लगाउन, प्रशस्त पानी तथा झोल पदार्थ सेवन गर्न र ताजा तथा स्वस्थकर खाना खान सुझाव दिएको छ।
साथै खेतबारी तथा अन्य बाहिरी काम बिहान वा साँझको चिसो समयमा गर्न, बालबालिका र ज्येष्ठ नागरिकको विशेष हेरचाह गर्न तथा स्वास्थ्य समस्या देखिए नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा सम्पर्क गर्न आग्रह गरिएको छ।
शैक्षिक संस्थाहरूलाई समेत आवश्यकताअनुसार बिहान वा साँझको समयमा कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन प्राधिकरणले सुझाव दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)
मौसम