वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित १० जना पक्राउ
ratopati.com
सुर्खेत प्रहरीले लागु औषध ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरेको छ। प्रदेश राजधानी वीरेन्द्रनगर नगरपालिका–१० स्थित रहेको होटल बुलबुले भ्यु टु को कोठा नं. २०६ , २०३ र वीरेन्द्रनगर बजार एरिचोकबाट उनीहरूलाई पक्राउ गरिएको हो। उक्त स्थानमा लागू औषध कारोबार भइरहेको भन्ने सूचना थाहा पाएपछि प्रहरीले छापा हानेको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा ५ जना वीरेन्द्रनगरका, ४ जना दैलेख र एक जना कालिकोटमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –३ बस्ने वर्ष ३० को सुमन खत्री, २२ वर्षका कमल डाँगी र २५ वर्षीय युवराज ढकाल, वडा नम्बर–४ बस्ने वर्ष २३ को रञ्जित खड्का र २४ वर्षीय सुजन शर्मा रहेका छन्। त्यस्तै दैलेख नारायण नगरपालिका–८ का २३ वर्षीय दीपक थापा, नानपा ११ का २९ वर्षीय सागर चन्द, ८ बस्ने वर्ष २३ को क्षितिज शाही, दैलेखकै डुङ्गेश्वर गाउँपालिका–१ बस्ने वर्ष २४ को डम्बर खड्का छन् । यस्तै कालिकोट महाबै गाउँपालिका –३ बस्ने वर्ष २२ को जीवन सिंह पनि पक्राउ परेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)