पर्यटक भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक नियन्त्रणमा
baahrakhari.com · Thu Jun 04 14:28:57 GMT 2026

काठमाडौं । अध्यागमन विभागले पर्यटक भिसामा नेपालमा बसोबास गर्दै भिसाको उद्देश्यविपरीत व्यावसायिक गतिविधिमा संलग्न रहेको आरोपमा बिहीबार दुईजना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका दुवै पुरुष हुन् ।
प्राप्त उजुरी तथा प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले सामाजिक सञ्जाल टिकटकमार्फत् प्रचारप्रसार गरी सम्पर्कका आधारमा विभिन्न खाद्य सामग्री बिक्री वितरण गर्दै आएको खुलेको जनाइएको छ ।
उनीहरूले हिमाली क्षेत्रका स्याउ, ओखर, लसुन, किसमिसलगायत खाद्य सामग्री सस्तो मूल्यमा उपलब्ध गराउने भनी प्रचारप्रसार गरे पनि बजार मूल्यभन्दा महँगो दरमा बिक्री गर्ने गरेको पाइएको जनाइएको छ ।
अनुसन्धानका क्रममा ती नागरिकहरूले दुई वर्षअघि विदेशी लगानी भित्र्याई रेस्टुरेन्ट स्थापना गर्ने उद्देश्यले व्यावसायिक (बिजनेस) भिसा प्राप्त गरे पनि प्रतिबद्धताअनुसार लगानी भित्र्याएको नदेखिएको तथा हाल पर्यटक भिसामा नेपालमा बसोबास गरिरहेको पाइएको जानकारी छ ।
विभागका अनुसार नेपालको प्रचलित अध्यागमन कानुनबमोजिम विदेशी नागरिकले जुन उद्देश्यका लागि भिसा प्राप्त गरेको हो, सोबाहेक अन्य कार्य गर्न पाउँदैनन् ।
भिसाको सर्त तथा उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको पाइए प्रचलित कानुनबमोजिम जरिवाना गर्न, नेपालबाट निष्कासन गर्न तथा निश्चित अवधि वा अनिश्चित अवधिसम्म नेपाल पुनः प्रवेश गर्न नपाउने व्यवस्था रहेको छ ।
#अध्यागमन विभाग
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ