विश्वमा वर्चस्व गुम्ने चिन्ता
gorkhapatraonline.com · Thu Oct 01 03:02:46 GMT 2026

राज्य सञ्चालनको मुख्य आधार नै शक्ति हो । शक्तिबिना केही पनि चलायमान हुँदैन । अहिले विश्वमा राज्य सञ्चालन जनशक्ति, राजशक्ति र सैन्यशक्तिका आधारमा भइरहेका छन् । धेरै मुलुकमा लोकतन्त्र छ । कहीँ राजतन्त्र, कहीँ कम्युनिस्टतन्त्र त कहीँ सैन्यतन्त्रमा आधारित शासनसत्ता छन् । आफ्ना नागरिको भलाइका लागि राज्यसत्ता जनमुखी र जनमैत्री हुनु पर्छ । जनमैत्री भएन भने जनविद्रोह हुन्छ । जनविद्रोहले जुनसुकै सत्ता पनि ढाल्न सक्छ । आजको विकासले विश्वका अधिकांश मुलुकलाई आत्मनिर्भर होइन, परनिर्भर बनाएको छ । एक्लै आत्मनिर्भर भएर कोही पनि बाँच्न सक्ने अवस्था छैन । विश्वका सबै सूचना मोबाइलमै कैद भएको छ । अहिले विश्वको नेतृत्व अमेरिकाको हातमा छ । विश्वमा उसकै वर्चस्व छ । अमेरिकालाई चुनौती दिने शक्तिका रूपमा चीनको उदय भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चीनले उछिन्ने चिन्ता छ । उहाँले चीनलाई प्रतिस्पर्धी होइन प्रतिद्वन्द्वी ठान्नुभएको छ । धम्क्याएर नझुक्ने अवस्थामा पुगेपछि चीनलाई फकाइफुल्याइ गरेर भए पनि नियन्त्रणबाहिर जान नदिने पक्षमा ट्रम्प हुनुहुन्छ । चीनका राष्ट्रपति सी चिनफिङ भने शान्त कूटनीतिमार्फत अमेरिकासित प्रतिद्वन्द्विता होइन, प्रतिस्पर्धी र सहयोगी बन्न खोज्नुभएको छ । उहाँले युद्ध होइन, शान्ति चाहनुभएको छ । उहाँ अमेरिकासितको व्यापार युद्ध रोक्ने पक्षमा हुनुहुन्छ ।
ट्रम्पको निमन्त्रणामा सीले एक दशकपछि अमेरिकाको तीनदिने (सेप्टेम्बर २३–२५) राजकीय भ्रमण गर्नुभयो । विमानस्थलमै पुगेर ट्रम्प दम्पतीले सी दम्पतीको भव्य स्वागत गर्नुभयो । ह्वाइट हाउसमा सेप्टेम्बर २४ मा भएको द्विपक्षीय शिखरवार्तामा सी र ट्रम्पबिच मुख्य गरी व्यापारिक युद्धविरामको अवधि थप गर्ने र कृत्रिम बुद्धिमत्ता (एआई) को व्यवस्थापन गर्ने विषयमा महत्वपूर्ण समझदारीहरू भएका छन् । व्यापार युद्धविराम आगामी जनवरी १० सम्म लम्ब्याइएको छ । यस शिखरवार्ताको सबैभन्दा ठुलो र तत्कालको उपलब्धि नै दुई देशबिच जारी व्यापारिक तनावलाई रोक्न गरिएको सम्झौताको अवधि थप हुनु हो । त्यस्तै दुवै देशबिच तीव्र प्रतिस्पर्धा भइरहेको ‘सुपर इन्टेलिजेन्स’ वा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को विषय पनि वार्ताको केन्द्रमा थियो । राष्ट्रपति सीले एआईको विकास सधैँ मानव नियन्त्रणमा रहनुपर्ने र यसका जोखिमलाई मिलेर व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति ट्रम्पले एआईको खतराबारे विश्वव्यापी चासो रहे पनि यस क्षेत्रमा नयाँ कडा नियमहरू लगाउनुभन्दा बजार र प्रविधिलाई अहिलेकै अवस्थामा छाड्न इच्छुक रहेको सङ्केत गर्नुभयो । यद्यपि दुवै नेता एआई सुरक्षाका सम्बन्धमा प्राविधिक संवाद जारी राख्न सहमत हुनुभएको छ । वार्ताको सुरुमा ट्रम्पले दुई देशबिच थप सन्तुलित व्यापारिक सम्बन्ध हुनुपर्नेमा जोड दिनुभयो । अमेरिकाले चीनद्वारा गरिने अमेरिकी भटमास खरिद र कृषि उत्पादनहरूको आयात प्रतिबद्धतालाई पूर्ण रूपमा निरन्तरता दिन आग्रह गरेको छ, जसमा चीन सकारात्मक देखिएको छ । दुवै नेताले आपसी मित्रता र कूटनीतिक सम्बन्धलाई जोड दिँदै रणनीतिक स्थायित्व कायम राख्ने प्रतिबद्धता जनाउनुभएको छ । ट्रम्प र सीबिच आगामी नोभेम्बरमा चीनको सेन्जेनमा हुने एपेक सम्मेलन र डिसेम्बरमा फ्लोरिडामा हुने जी–२० शिखर सम्मेलनका क्रममा पुनः भेटवार्ता हुने तय भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)