‘तिब्बती चाहन्छन् कोरलाबाट नेपाल घुम्न’
gorkhapatraonline.com · Sat Nov 15 07:31:38 GMT 2025

चीनको स्वशासित क्षेत्र तिब्बतका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलको एकसाता भ्रमण गरी फर्किनुभएका लोमन्थाङ गाउँपालिकका अध्यक्ष टसी न्हुर्वु गुरुङ उत्साहित हुनुहुन्छ ।
जनप्रतिनिधिको टोली मुस्ताङको लोमान्थाङ गाउँपालिकामा–१, छोसेरस्थित नेचुङमा अध्यागमन (इमिग्रेसन) कार्यालयबाट भिजिट भिसामा कोरला नाकाबाट चीनको स्वशासित क्षेत्र तिब्बतका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलको एकसाता भ्रमण गएका थिए ।
अध्यागमन (इमिग्रेसन) कार्यालय उद्घाटन भएको एकवर्षपछि गुरुङको नेतृत्वमा उपाध्यक्ष छयुमी बिष्टगुरुङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिका उपाध्यक्ष छिरिङ ल्हामो गुरुङ सहित १३ जना जनप्रतिनिधिको टोलीले तिब्बतीहरूबाट कोरला नाकालाई आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक गतिविधिको आदानप्रदान तथा दिगो विकासका क्षेत्रमा सहकार्यमा चासो व्यक्त गरेका छन् ।
गत भदौ महिनाको ३० गतेदेखि कोरला नाका व्यवसायिक रुपमा सञ्चालनमा आएपछि भन्सारबाट नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ हुँदै लिजी–नेचुङ (कोरला) बाट सडक सञ्जाल हुँदै तिब्बतको सहरमा घुम्म जानुभएका गाउँपालिका अध्यक्ष गुरूङ सहितका जनप्रतिनिधिको टोलीले स्थानीय समुदाय, व्यवसायी सहित स्थानीय प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए ।
कोरला नाकाबाट नजिकै रहेको झोम्वासेन जिल्ला, सिगात्स सहर, गोफेल हिमालको काखमा रहेको ल्हासा सहर, बौद्ध धर्मका प्रणेता पद्मसम्भवले सिद्धिप्राप्त गरेको स्थान, शीतकालीन दरबार,पोतला र नोर्बुहिङ सहित सातौँ र पन्ध्रौँ शताब्दीमा निर्मित चर्चित गुम्बा, दरबारहरू सहित अन्य पर्यटकीयस्थलको अवलोकन समेत गरिएको अध्यक्ष गुरूङले बताउनुभयो ।
अध्यक्ष गुरूङ भन्नुहुन्छ,‘‘ तिब्बतीहरू कोरलाबाट नेपालका धार्मिक तथा पर्यटकीयस्थलहरूमा घुम्न आउन आतुर छन्, बौद्ध धर्मावलम्बीहरू कोरलाबाट लुम्बिनी घुम्न जाने रहर धेरैको रहेछ ।’’
तिब्बत बौद्ध धर्मावलम्बीको बसोबास रहेको विश्वकै ठूलो सहरमध्येमा पर्छ । तिब्बतीहरू यसअगाडि खासा, तातोपानी नाका तथा अन्य रुटबाट त्रिभुवन विमानस्थल हुदै नेपाल भित्रिने गरेका थिए ।
गाउँपालिका अध्यक्ष गुरूङले कोरला नाकलाई धार्मिक तथा पर्यटनको दृष्टिकोणले समेत अति महत्वपूर्ण भएकाले भिसा प्रक्रिया सहित थप सहज बनाउनुपर्ने बताउनुभयो ।
तिब्बतीहरूले छोटो, मध्यम र लामो दुरीको यात्राको योजना समेत बनाएकाले नेपाल सरकारमार्फत अध्यागमनको प्रक्रियालाई सहज बनाउन आवश्यक रहेको अध्यक्ष गुरूङको भनाई छ ।
तिब्बतीले छोटो दूरीमा मुस्ताङका धार्मिकस्थल, मध्यममा पोखरा, काठमाण्डौ तथा लामो दूरीमा भगवान बुद्धको जन्मभूमी लुम्बिनी, भारत लगायतका क्षेत्रमा जाने चाहना व्यक्त गरेको अध्यक्ष गुरूङले बताउनुभयो ।
जाडोयाममा हिउँ जमेकाले टोली अति पवित्र तिर्थस्थल चीनको स्वशासित क्षेत्र तिब्बतको न्गारी प्रान्तमा रहेको कैलाश मानसरोवर क्षेत्रमा जान सम्भव नभएपनि कैलाश मानसरोबर नेपालबाट प्रवेश गर्ने सबैभन्दा सहज र छोटो रुट नै कोरला नाका रहेको समेत अध्यक्ष गुरूङले बताउनुभयो ।
कोरला नाका तिब्बत घुम्न र तिब्वतबाट नेपाल आउन सहज भएमा चिनियाँ पर्यटकको संख्यामा उल्लेखनीय बृद्धि हुने भएकाले भ्रमणबाट प्राप्त उपलब्धीलाई प्रदेश तथा संघीय सरकारसमक्ष समेत जानकारी गराउने तयारी भइरहेको जनप्रतिनिधिको टोलीको भनाई छ ।
नाका क्षेत्रमा चिनियाँ संरचना तथा प्राथमिकताले चिन सरकारले आर्थिक तथा धार्मिक रुटको रुपमा समेत प्रयोग गर्ने चाहना देखाइरहेको अवस्थामा नेपालले अवसरलाई सदुपयोग गर्नुपर्ने मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले बताउनुभयो ।
अध्यागमन कार्यालय मुस्ताङबाट नेपाल प्रवेश गर्ने चिनियाँ र अन्य मुलुकका नागरिकका लागि १५० दिनको ‘अनअराइभल भिसा’ निःशुल्क उपलब्ध गराउने गरेको छ ।
विदेशी नागरिकले अर्धनिधेषित क्षेत्रका लागि तिर्नुपर्ने पाँच सय डलर सहित अन्य शुल्क तिर्नुपर्ने अध्यागमन कार्यालयका प्रमुख प्रवेश बडुवालले बताउनुभयो ।
प्रमुख बडुवालले पहिलोपटक नाकाबाट गएको टोलीबाट अनुभव सहितका प्रक्रियाहरूमा बारेमा समेत बुझ्ने र थप योजना बनाउने बताउनुभयो ।
प्राचिनकालमा उपल्लो मुस्ताङ र तिब्बत बिच पारिवारिक सम्बन्ध स्थापित भएकाले लोमान्थाङ क्षेत्रबाट तिब्बत जाने गरिएपनि खम्पाहरुको बिद्रोहपछि सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि नाका बन्द गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)