मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पोखराबाट दुबई उडानलाई नियमित बनाउन आह्वान

gorkhapatraonline.com · Fri Oct 02 05:06:32 GMT 2026

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखराबाट दुबई उडानलाई नियमित र सफल बनाउन सार्वजनिक आह्वान गर्नुभएको छ । उहाँले सरकारका तिनै तह, निजी क्षेत्र, पर्यटन व्यवसायी, नागरिक समाज तथा आमयात्रुले गम्भीरतापूर्वक लिनका लागि आग्रह गर्नुभएको छ । “अहिले पहल गर्न सकिएन भने पछि ‘त्यतिबेला गर्न सकेको भए हुन्थ्यो’ भनेर पश्चात्ताप गर्नुको अर्थ रहने छैन । यसका लागि पोखरा महानगरपालिकाले पनि योजनाबद्ध रूपमा काम गरिरहेको छ । प्रदेश तथा सङ्घीय सरकारले पनि आआफ्नो जिम्मेवारी अनुसार आवश्यक सहजीकरणको अपेक्षा छ,” उहाँले भन्नुभयो ।

प्रमुख आचार्यले आगामी तीन/चार महिना सुरुवाती चरण भएकाले विशेष प्राथमिकतामा राखेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न आग्रह गर्नुभएको छ । उहाँले अहिले सुरु भएको नियमित अन्तर्राष्ट्रिय उडानलाई निरन्तरता दिन नसकिए पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन र विस्तारमा आगामी दिनमा थप चुनौती आउन सक्ने उल्लेख गर्नुभएको छ । पोखरासहित धवलागिरि, चितवन–भरतपुर, बुटवललगायत पोखरा हुँदै यात्रा गर्न सक्ने यात्रुलाई सम्भव भएसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न उनले आग्रह गर्नुभएको हो । आचार्यले अबको तीन/चार महिनामा पोखराबाट दुबई तथा दुबई हुँदै विश्वका विभिन्न गन्तव्यमा जाने यात्राको योजना बनाउन आग्रह गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)