मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनतालाई नढाँट

rajdhanidaily.com · Mon Feb 07 23:19:54 GMT 2022

समयले घक्र्याउँदै ल्याएपछि प्रधानमन्त्री देउवा र माओवादीअध्यक्ष प्रचण्डले गत असोजमै एमसीसी मुख्यालयलाई पत्र लेखी गरेका वाचा र प्रतिबद्धता स्वयं एमसीसी कार्यालयले स्मरण गराएपछि यसले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । एमसीसी’bout गोप्य राखिएका थैलाका मुखहरू एकपछि अर्कोगरी खुल्दै जान थालेपछि नेताहरूले जनतासँग गर्नुपर्ने कुरा बाहिरकासँग र बाहिरका सँग गरिनुपर्ने कूटनीतिक कुरा जनतासँग गरिरहेको खुलेको छ । यसो हुनु र गरिनु आफंैमा हामी नेपाली र हाम्रो देश नेपालका लागि दुर्भाग्यको कुरा हो । तर, यही कुरा एमसीसी मुख्यालयलले नेपाली नेताहरूलाई आफ्ना वाचा पूरा गर्ने दिन आइसकेको स्मरण गराएपछि आमनेपालीले थाहा पाउन पुगेका छन् । गरिएका वाचा र प्रतिबद्धता यही फाल्गुण १६ गतेभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्नेमा पनि एमसीसी मुख्यालयले सम्बन्धित नेताहरूलाई सचेत गराएको छ । आफ्नै नेताहरूले आफ्ना जनतालाई गुमराहमा राख्ने तर अरूसँग गोप्य रूपमा कामहरू गर्दै जाने कुराको पोल खुलेपछि सबैभन्दा नराम्रो नेपाली जनतालाई नै लागिरहेको छ ।

पछिल्लो समयमा नेताहरूले जनविश्वास गुमाउँदै गएको र त्यसको ढाकछोपका लागि एकअर्काविरुद्ध निकृष्ट गालीगलौज गर्दै गइरहेको अवस्थामा गोप्य सहमति र प्रतिबद्धताका कुराले जनताको मनोविज्ञानमा थप ठूलै दरार पैदा गरेको छ । नेपाल आफैंमा रणनीतिक महŒवको इलाकामा अवस्थित भएकाले यसले आफूले कल्पना गरेका भन्दा जटिल बाह्य समस्याको सामना गर्दै आइरहेको छ । आफ्ना नेताहरूले देश र जनताको रक्षा गर्लान् र घरभित्र आगो लाग्नबाट बचाउलान् भनी आशा गरिरहेका बखत उल्टै नेताहरू नै यस्ता कार्यमा गोप्य रूपमा सहभागी र अनुबन्धित हुन पुग्नुले कतै देशमा ठूलै अन्तर्राष्ट्रिय संकट त निम्तदै छैन भन्ने बलियो आशंका निम्त्याएको छ । नेपालीहरू भुक्तभोगी छन् कि जुनबेला देश आन्तरिक अन्तरविरोधमा फसिरहेको हुन्छ, त्यसैबेला नेपालमा बाह्य दबाब र स्वार्थ बढेर गइरहेको हुन्छ । नेताहरू ठीक यतिबेला नै बाह्यहस्तक्षेप र दबाब थेग्न र त्यसको युक्तिपूर्ण जवाफ दिन सक्षम र एकजुट हुनैपर्छ । सर्वसाधारण जनताभन्दा नेतामा हुनुपर्ने विशिष्ट गुण भनेको यही नै हो । सायद यही गुण र क्षमताले नै नेतालाई सर्वसाधारण जनताभन्दा अब्बल र श्रेष्ठ बनाउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)