६ हजार नमुना परीक्षण गर्दा ६ वटामा विषादीको अवशेष
karobardaily.com · Mon Dec 20 01:20:15 GMT 2021
बाहिरी मुलुकबाट आयात हुने तरकारी तथा फलफूलका ६ हजार नमुना परीक्षण गर्दा ६ वटामा कैफियत भेटिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मुख्य ७ नाकामा विषादी परीक्षण गर्दा ६ वटामा विषादीको अवशेष भेटिएको हो ।
विभागले आयातित तरकारीमा जीवनाशक विषादीको अवशेष कति छ भनेर विभिन्न सात ठाउँबाट १ कात्तिकदेखि परीक्षण सुरु गरेको थियो । विभागका प्रवक्ता मोहनकृष्ण श्रेष्ठले एक महिनाको अवधिमा ६ हजार संख्यामा तरकारी तथा फलफूलको नमुना परीक्षण गरिएको जानकारी दिए । यसअघि केन्द्रीय कृषि प्रयोगशालाबाट मात्रै परीक्षण भइरहेकोमा आयातित तरकारी तथा फलफूलको परीक्षण नाकामै सुरु गर्न थालिएको हो । विभागका अनुसार काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र धनगढीमा विभाग अन्तर्गतका कार्यालयबाट परीक्षण सुरु गरिएको छ । विभागका अनुसार परीक्षणको क्रममा एक-दुई ट्रक तरकारी तथा फलफूल होल्ड गरिएको छ । आम उपभोक्तालाई गुणस्तरको सुनिश्चतता गर्न आयात हुने तरकारी तथा फलफूल सीमा क्षेत्रमै विषादी परीक्षण गर्नुपर्छ । खाद्य ऐन अनुसार गुणस्तर परीक्षणको दायित्व खाद्य विभागकै हो ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)