स्वदेशी उत्पादन २०% महँगो भए पनि खरिद गरिने
ekantipur.com · Sat May 20 01:05:12 GMT 2023
काठमाडौँ — सरकारी कार्यालयमा प्रयोग गरिने सामग्री तुलनात्मक रूपमा २० प्रतिशतसम्म महँगो भए पनि स्वदेशी उत्पादन नै खरिद गरिने सरकारले घोषणा गरेको छ । यसअघि गत फागुनमा उद्योग मन्त्रालयले १५ प्रतिशत महँगो भए पनि स्वदेशी वस्तुहरू खरिद गर्नुपर्ने बताएको थियो । ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियानअन्तर्गत स्वदेशी उत्पादनलाई प्रवर्धन र उपयोग गरिने नीति तथा कार्यक्रममा छ ।
सरकारले स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धिका लागि ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई सहयोग पुर्याइने जनाएको छ । यी अभियानअन्तर्गत हिमालको पानी प्रशोधनसहितको व्यावसायिक उत्पादन र तिलगंगा आँखा अस्पतालबाट उत्पादित लेन्सलाई विश्वबजारमा ब्रान्डिङ गरिने नीतिमा उल्लेख छ । सरकारले हेटौंडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई पुनः सञ्चालनमा ल्याइने जनाएको छ । लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योगहरू सञ्चालन, खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति गठन गर्ने जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)