मृत्युको खबर आउँछ, शव आउँदैन
ekantipur.com · Sat Mar 16 00:57:03 GMT 2024
विराटनगर र नेपालगन्ज — दुई वर्षदेखि कतारमा कार्यरत झापा, बिर्तामोड–५ का ३३ वर्षीय गंगाराम अधिकारी त्यतैबाट रुस गएको तीन महिना भयो । तर पछिल्लो दुई महिनादेखि भने उनको अवस्था अज्ञात थियो । रुसी सेनामा भर्ती भएका अधिकारीको सरकारले बिहीबार मृत्यु भएको पुष्टि गरे पनि उनको परिवार भने अझै बेखबर छ ।
महिना दिनअघि दिदी लक्ष्मी पौडेलले भाइको खोजबिनका लागि काठमाडौंस्थित कन्सुलर विभागमा निवेदन दिएकी थिइन् । ‘मेरो भाइलाई के भयो र फोन गर्नु भ’को ?’ बिहीबार साँझ कान्तिपुरसँगको टेलिफोन सम्पर्कमा लक्ष्मीले भनिन्, ‘भाइलाई के भ’को हो प्रस्ट भन्दिनूस् न ।’ अधिकारीका वृद्ध बाआमा, श्रीमती र दुई नाबालक छोरा छन् । परिवारको दयनीय आर्थिक अवस्थाका कारण अधिकारी खाडी मुलुक गएका थिए । ‘घर–परिवारसँग सल्लाह गरेरै रुस गएको थियो,’ लक्ष्मीले थपिन्, ‘मनग्ये कमाइ हुन्छ, रुस जान्छु भनेपछि परिवारले स्वीकृति दिएको थियो ।’ उदयपुर चौदण्डीगढी–३ की चिना घिमिरे रुसमा मारिएका ४१ वर्षीय श्रीमान् पदमबहादुर घिमिरेबारे बेखबर छिन् । गत असोज ३० मा श्रीमती र तीन लालावाला छाडेर उदयपुरबाट दुबई हुँदै रुस उडेका उनको मृत्युबारे परराष्ट्र मन्त्रालयले पुष्टि गरिसकेको छ । तर, चिनालाई परराष्ट्रले दिएको खबर पत्यार लागेकै छैन । ‘मृत्युको खबर सुनिरहेकी छु तर मलाई विश्वास लागेको छैन,’ चिनाले कान्तिपुरसँग भावुक हुँदै सुनाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)