‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
ratopati.com · Sun Jun 07 22:51:21 GMT 2026

काठमाडौँ । इजरायली अदालतले कब्जा गरिएको पूर्वी जेरुसेलमकी एक प्यालेस्टिनी पत्रकारलाई २० महिनाको जेल सजाय सुनाएको छ । समाचार संस्था एएफपीका अनुसार ३३ वर्षीया स्वतन्त्र पत्रकार बयान अल–जुबालाई ‘आतङ्कवादी संगठनको समर्थन’ र ‘हिंसा भड्काउन उक्साएको’ आरोपमा जेरुसेलम मजिस्ट्रेट अदालतले उक्त सजाय सुनाएको हो ।
अदालतको फैसलाअनुसार पत्रकार जुबाको २० महिनाको जेल सजाय आगामी सेप्टेम्बर ६ देखि सुरु हुनेछ । जेल सजायका साथै अदालतले उनलाई ६ महिनाको निलम्बित सजाय र ५,००० इजरायली शेकेल (करिब १,७०० अमेरिकी डलर) जरिवाना समेत तोकेको छ । अदालतको यो फैसलाबाट आफू स्तब्ध भएको बताउँदै जुबाले ४५ दिनभित्र यसविरुद्ध पुनरावेदन गर्ने जानकारी दिएकी छन् ।
विभिन्न सञ्चार माध्यमहरूमा कार्यरत स्वतन्त्र पत्रकार जुबालाई इजरायली अधिकारीहरूले सन् २०२५ को फेब्रुअरीमा जेरुसेलमको पुरानो सहरस्थित अल–अक्सा मस्जिदबाहिरबाट पक्राउ गरेका थिए । इजरायली अभियोजन पक्षले उनका निजी सामाजिक सञ्जालका खाताहरूमा गरिएका पोस्टहरूलाई नै मुख्य प्रमाणका रूपमा पेस गर्दै उनीमाथि आतङ्कवादी संगठनलाई सहयोग पुर्याएको र उत्तेजना फैलाएको आरोप लगाएको थियो । तर, जुबाले भने आफूमाथि लगाइएका ती आरोपहरूको खण्डन गर्दै आएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)