मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजेट, विवेचना र विरोधका स्वर

rajdhanidaily.com · Wed Jun 09 23:26:00 GMT 2021

सरकारले आर्थिक वर्ष २०७८-७९ का लागि ल्याएको बजेट सदाझै घाटाको भए पनि आगामी आर्थिक वर्षका लागि धेरै कार्यक्रम जनप्रिय रहेका छन् । कतिपयले बजेटलाई महत्वाकांक्षी भनेका छन् । कतिपयले बजेटलाई कार्यान्वयनका लागि जटिल भनेका छन् । कतिपयले नेपाली जनताको टाउकोमा ऋण बोकाएको भनेका छन् । कतिपयले यो सरकारले पूर्ण बजेट ल्याउनु हुँदैनथ्यो भनेका छन् । कतिपयले निर्वाचनको कुरा गरे पनि सरकारले बजेटको व्यवस्था नगरेको भनिरहेका छन् । बजेटमा स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष स्वास्थ्यको क्षेत्रमा निकै धेरै बजेट राखिएको छ । सदाझैं शिक्षाको क्षेत्रमा बजेट उल्लेख्य रहेको छ । जुन अघिल्लो वर्षकै निरन्तरता जस्तो रहेको छ । नेपालमा शिक्षाको अवस्थालाई शतप्रतिशतमा पु-याउन सरकारले बजेट सोहीअनुरूप प्रस्तुत गरेको छ । यसैगरी, स्वास्थ्य क्षेत्रमा सबै नेपालीलाई निःशुल्क रूपमा कोरोनाको खोप उपलब्ध गराउने कुरालाई पहिलो प्राथमिकतामा रोखेको छ । समग्रमा बजेटले सबैलाई छोएको छ । खेतमा काम गर्ने किसानदेखि कार्यालयमा काम गर्ने कर्मचारीसम्मका लागि बजेटले समेटेको छ । यस्तै, सानो पसल गर्ने व्यवसायीदेखि लिएर अर्बाैंको कारोबार गर्नेहरूलाई समेटेको छ । यस्तै, घरमा बस्ने सामान्य उपभोक्तादेखि लिएर धेरै महँगा उपभोक्तालाई पनि यसले समेटेको छ । यो बजेटमा खोट लगाउने ठाउँ नपाएपछि कतिपयले हाँसो लाग्ने प्रतिक्रिया दिएका छन् ।

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. महतले कृत्रिम हिसाबमा बजेटको आकार बढाएर चुनावमुखी कार्यक्रम प्रस्तुत गरिएको बताएका छन् । उनले धेरैपटक बजेट भाषण गर्नेमध्येको अर्थमन्त्री हुन् । तर, उनले संवैधानिक विधि पद्धति तथा मूल्य र मान्यताविपरीत बजेट आएको भन्दै टिप्पणी गरेका छन् । उनले अनावश्यक रूपमा सामाजिक सुक्षा भत्ता र तलब वृद्धि गरिएको भन्दै रोष प्रकट गरेका छन् । कर्मचारीको तलब वृद्धिका सम्बन्धमा कानुन मिचिएको उनको भनाइ छ । यस्तै अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्माले आगामी आर्थिक वर्षको बजेट १५आंै योजनाको लक्ष्यलाई धक्का पुग्ने गरी प्रस्तुत गरिएको बताए । सरकारले चालूतर्फ जाने खर्च लुकाउन बजेटको अनूसची १ नै परिवर्तन गरेको आरोप उनको छ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्द पोखरेलले आगामी आर्थिक वर्षको बजेटमा राम्रा–नराम्रा पक्ष रहेको बताएका छन् । अर्थमन्त्रीले ३ घण्टा लगाएर प्रस्तुत गरेको ५ सय बुँदाको बजेटमा रोजगारी सिर्जनाका लागि राम्रै कार्यक्रम ल्याइएको बताए पनि बजेटले सबै विषय छुनै नै बजेटको कमजोरी पक्ष भएको औंल्याए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)