बचत फिर्ता होला ?
ekantipur.com · Sun Apr 07 00:17:09 UTC 2024
आम नागरिकको बचत डुबाएर फरार भएका अनगिन्ती सहकारीका सञ्चालकका कारण आम नागरिकमा सहकारी भनेको ठगहरूको बलियो संगठन हो भन्ने भाष्य निर्माण हुँदै गइरहेको छ ।
नेपाली समाजमा नहोस् पनि किन, सहकारीका माध्यमबाट ठूलो पैसाको चलखेलमा राजनीतिक व्यक्ति र व्यापारिक समूह नै संलग्न रहेको तथ्य सतहमा छरपस्ट भइसकेको छ । फरार भएका सहकारीका सञ्चालकसँगै बन्द भएका सहकारीमा गहिरो अनुसन्धान गरिने हो भने अहिले आएका नामहरू भन्दा अझ बढी संख्यामा पहुँचवालाहरू बाहिर आउने नै छन् । भोलिका दिनमा सरकार कठोर नीतिसहित प्रस्तुत नहुने हो भने भुइँमान्छेका जीविकोपार्जनको सारथि बनेको सहकारी र त्यसमा जम्मा गरेको पैसाबाट दोस्रो पुस्ताको उज्ज्वल भविष्य बनाउने नागरिकको सपना चकनाचुर हुने निश्चित छ । सहरकेन्द्रित देशैभर रहेका सहकारीमा आम नागरिकको जीवनभरको पुँजी जम्मा छ । हिजो भागेकाहरू भोलि आउलान्, बचतकर्ताको पैसा फिर्ता गर्लान्, तर अहिले भइरहेका र आम नागरिकले जम्मा गरिरहेका बचतको सुरक्षा सरकारले गर्ने कि नगर्ने ? सहकारीको बचत अपचलन दुइटा वर्गले गरेका छन् । एउटा सञ्चालक व्यवस्थापक समूह र अर्को सहकारीबाट रकम लिएर नतिर्ने समूह । यी दुवै देशैभरि सक्रिय छन् । उनीहरूमाथि सरकारले अनुसन्धान गर्नैपर्छ । नत्र भुइँ मानिसहरूको बचत कहिल्यै फिर्ता नहुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)