मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

किसानलाई पशुचौपाया सुरक्षाको चिन्ता

gorkhapatraonline.com · Mon Jun 08 00:06:22 GMT 2026

बर्खायाम सुरु भएसँगै खेतीपातीको तयारीमा व्यस्त हुने किसानलाई मनसुनसँगै आउने बाढीपहिरो र डुबानको जोखिमले चिन्तित बनाउँछ ।

खेतबारीसँगै गोठ बग्ने, पशु डुबेर मर्ने, घाँस तथा दाना नष्ट हुने र सङ्क्रामक रोग फैलिने समस्याले हरेक वर्ष किसानलाई ठुलो क्षति बेहोर्न बाध्य बनाएको पशु अधिकारकर्मी दुर्गानाथ दाहाल बताउनुहुन्छ ।

देशमा मनसुन सक्रिय हुन थालेपछि बाढीपहिरोको जोखिम बढ्छ । यस्तो अवस्थामा किसानले आफ्नो तथा परिवारको सुरक्षासँगै घरमा पालिएका पशुचौपायाको संरक्षणमा पनि विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । ग्रामीण क्षेत्रमा अधिकांश परिवारको आयआर्जन र दैनिकी पशुपालनमा निर्भर रहेकाले विपत्को समयमा पशुधनको सुरक्षा महत्वपूर्ण विषय रहेकाले पशुधनमा आउने क्षतिले ग्रामीण गरिबीलाई बढाउने उहाँले उल्लेख गर्नुभयो ।

नेपाल पशु चिकित्सा परिषद्का अनुसार देशभर पशुपन्छीको सङ्ख्या करिब नौ करोड रहेको छ भने ३४ लाख किसान परिवार प्रत्यक्ष रूपमा पशुपालन व्यवसायमा आबद्ध छन् । परिषद्का उपाध्यक्ष डा. मनोजकुमार शाहीका अनुसार दुध, मासु र अन्डा उत्पादनले किसानको जीविकोपार्जन मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु¥याइरहेको छ । “प्राकृतिक विपत्का कारण हरेक वर्ष पशुधन क्षेत्रमा ठुलो क्षति भइरहेको छ,” उहाँले भन्नुभयो । यसलाई कम गर्न समुदायस्तरमै योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विशेष गरी मनसुनजन्य बाढीपहिरोले गोठ बगाउने, पशु डुबेर मर्ने, दाना तथा घाँस नष्ट हुने र विभिन्न सङ्क्रामक रोग फैलिने समस्या बढाउने गरेको छ । विपत्को समयमा मानिस आफ्नो सुरक्षामा केन्द्रित हुँदा पशुको हेरचाहमा कमी आउने र त्यसले थप क्षति निम्त्याउने डा. शाहीको भनाइ छ ।

बाढीका बेला दूषित पानी, फोहोर वातावरण तथा लामो समय पानीमा उभिनुपर्ने अवस्थाका कारण पशुमा खुर कुहिने, पेटसम्बन्धी रोग, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण तथा मांसपेशीसम्बन्धी समस्या देखिने जोखिम उच्च रहने पशु प्राविधिक उद्धवप्रसाद सापकोटाले बताउनुभयो । उहाँका अनुसार बाढीपहिरोको पूर्वानुमान हुनासाथ पशुलाई सुरक्षित तथा अग्लो स्थानमा सार्न आवश्यक हुन्छ ।

विज्ञले बाढीपहिरोबाट हुने पशुधनको क्षति न्यूनीकरणका लागि स्थानीय तहमा आकस्मिक उद्धार तथा व्यवस्थापन टोली गठन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । पशु चिकित्सक, पशुपोषण विशेषज्ञ, जनस्वास्थ्यकर्मी, स्वयंसेवक तथा सामाजिक संस्थाका प्रतिनिधि सम्मिलित टोलीले प्रभावित क्षेत्रमा उपचार, खोप, दाना व्यवस्थापन तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सक्ने विश्वास गरिएको छ ।

पशु स्वास्थ्य सुरक्षाका लागि सफा पानी र गुणस्तरीय आहार अत्यन्त आवश्यक मानिन्छ । बाढीका बेला बिग्रिएको दाना, फङ्गस लागेको घाँस तथा दूषित पानीका कारण विभिन्न रोग फैलिने भएकाले यस्ता सामग्री प्रयोग नगर्न किसानलाई आग्रह गरिएको छ । साथै विषादी तथा रासायनिक पदार्थ सुरक्षित स्थानमा नराखिए पानी नै विषाक्त बन्न सक्ने जोखिम रहेको विज्ञले बताएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)