७ लघुवित्तको पुँजीकोष तोकिएको सीमाभन्दा तल, कुनको कति ?
aarthiknews.com

काठमाडौं । केही लघुवित्त वित्तीय संस्थाहरूको पुँजीकोष अनुपात नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम सीमाभन्दा कम रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकको लघुवित्त वित्तीय संस्थाहरूको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन अनुसार ७ वटा लघुवित्त कम्पनीहरुको पुँजीकोष अनुपात ८ प्रतिशत भन्दा कम छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्तहरुले कुल जोखिम भारित सम्पत्तिको न्यूनतम ४ प्रतिशत प्राथमिक पुँजी तथा ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने व्यवस्था रहेको छ । तर, गत चैतसम्म ७ संस्थाले उक्त न्यूनतम मापदण्ड पूरा गर्न नसकेको देखिएको हो।
जसमध्ये, मातृभूमि लघुवित्त वित्तीय संस्थाको पूँजीकोष अनुपात सबैभन्दा कम ५.३२ प्रतिशत रहेको छ । त्यसपछि उपकार लघुवित्तको ६.२१ प्रतिशत, युनिक नेपाल लघुवित्तको ६.२८ प्रतिशत, धौलागिरि लघुवित्तको ७.०० प्रतिशत, सामुदायिक लघुवित्तको ७.१६ प्रतिशत, वीन नेपाल लघुवित्तको ७.१९ प्रतिशत तथा फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ७.२७ प्रतिशत पूँजीकोष अनुपात रहेको छ। यी सातवटै संस्थाले राष्ट्र बैंकले तोकेको न्यूनतम ८ प्रतिशत पूँजीकोष अनुपात कायम गर्न सकेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)