आयल निगमको धनगढी डिपो प्रमुख साहको सरुवा
nayapatrikadaily.com · Wed Jan 10 00:52:00 GMT 2024
व्यवसायीसँग अवैध रूपमा एक लाख रुपैयाँसम्म असुली गरेको आरोप खेपेका आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख मोहनकुमार साहको सरुवा भएको छ । उपनिर्देशक साहको विवादित छविले निगमलाई नै असर गरेको भन्दै निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले मंगलबार साँझ उनलाई सरुवा गर्ने निर्णय गरेका हुन् । स्रोतका अनुसार उनलाई केन्द्रीय कार्यालयस्थित इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागमा बुधबारदेखि हाजिर हुने गरी सरुवा गरिएको छ ।
‘साहका कारण निगमको समग्र छविमै आँच आउन थालेपछि तत्कालै लागू हुने गरी सरुवा गरिएको छ,’ स्रोतले भन्यो । उनको सरुवा भए पनि नयाँ डिपो प्रमुख भने पठाइएको छैन । निगमले बिहीबार ५४औँ वार्षिकोत्सव मनाउन लागेका र सबै कर्मचारी त्यसकै लागि व्यस्त भएकाले वार्षिकोत्सवलगत्तै नयाँ डिपो प्रमुख नियुक्त गर्ने तयारी रहेको स्रोतको भनाइ छ ।‘धनगढी डिपोमा कार्यालय प्रमुख मात्रै हेरफेर गरेर पुग्दैन । अपरेसन विभागमा कार्यरत पुराना कर्मचारीसमेत हटाएर नयाँ पठाउनुपर्ने देखिएको छ,’ स्रोतले भन्यो, ‘त्यसैले वार्षिकोत्सव सकिनासाथ तीनजना कर्मचारीको नयाँ सेट धनगढी पठाएर आपूर्ति प्रणाली सुव्यवस्थित बनाउने प्रयत्न गर्न लागिएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)