असफल दल निरंकुशतालाई मलजल
rajdhanidaily.com · Thu Jul 01 23:45:30 GMT 2021
प्रजातान्त्रिक देशहरूमा राजनीतिक दलहरू राजनीतिक चेतनाको शक्तिगृह (पावर हाउस) मानिन्छन् । राजनीतिक दललाई आधुनिक राजनीतिको जीवनरेखा ( लाइफ लाइन) पनि भनिन्छ । परम्परागत राजनीतिक अवस्थाबाट राजनीति आधुनिकतातर्फ अग्रसर हुने क्रममा हरेक समाजमा राजनीतिक दलहरूको उदय हुन्छ । विशेष गरी राजनीतिक दललाई आधुनिकताको प्रतीकका रूपमा लिने गरिएको छ । निरंकुश शासन भएका देशहरूमा राजनीतिक दलको भूमिका निकै संकुचन पारिएको हुन्छ भने लोकतान्त्रिक र उन्नत शासन प्रणाली अगालेका मुलुकहरूमा दलहरू विस्तारित र सशक्त भूमिकामा रहेका हुन्छन् । हरेक लोकतान्त्रिक मुलुक र त्यहाँको शासकीय प्रणाालीमा राजनीतिक दलहरू नै निर्णायक भूमिकामा रहेका हुन्छन् । राजनीतिक दलबिना शासकीय व्यवस्था तथा कामकाज चलाउन असम्भव नभए पनि अत्यन्तै कठिन हुन सक्छ ।
यस्तो महŒवपूर्ण भूमिका खेल्ने राजनीतिक दललाई हामीकहाँ भने नेताहरूले पंगु साबित गराइदिएका छन् । नेताहरूसँग राजनीतिक दल प्रत्यक्ष रूपमा जोडिने भएकाले पनि ती नेताहरूले अपनाउने विचार, रणनीति कार्यकौशलता, क्षमता र इमानदारिताले राजनीतिक दलको सफलतामा मात्रै निर्भर गर्दैन सिंगो शासकीय प्रणालीलाई नै सफल बनाउन महŒवपूर्ण भूमिका खेल्छ । त्यसैले राजनीतिक दल कमजोर हँुदै गए भने शासन प्रणालीमाथि नै गम्भीर प्रश्नसमेत सिर्जना हुन पुग्छन् । नेपालको सन्दर्भमा हेर्दा पञ्चायती शासन व्यवस्थाको पतनसँगै स्थापना भएको लोकतन्त्रमा शासन व्यवस्था सञ्चालन गर्ने राजनीतिक दल र तिनका नेता दुवै जनताको नजरमा अप्रिय बन्न पुगे । जसको फलस्वरूप मुलुकले १० वर्षे युद्ध भोग्नुपर्ने अवस्था आयो । अहिले राजनीतिक दल र जनताहरूकै संयुक्त प्रयासले विश्वमै सबैभन्दा उन्नत मानिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली स्थापना भएको छोटो समयमा नै यो शासन प्रणालीले विभिन्न चुनौती भोग्न बाध्य भइरहेको छ । अहिले नेताहरूकै असक्षमताका कारण संघीय शासन प्रणालीसमेत छोटो समयमा नै असफल हुने भय बढिरहेको छ । नेताहरूमा लोकतान्त्रिक संस्कारको विकास हुन सकेको छैन भने उनीहरूले राजनीतिलाई व्यापार व्यवसायको थलोका रूपमा स्थापित गराउन थालेका छन् । देश र जनताको मुहार फेर्ने गरी काम गर्न छोडेर आफ्नै स्वार्थको बाटोमा नेताहरू हिँडिरहेका छन् । अहिले कु्र्सीको खेल यतिसम्म विकृत भइसकेको छ कि एउटा राजनीतिक दलले अर्को राजनीतिक दललाई ध्वस्त पारिदिने र एउटा नेताले अर्को नेतालाई ध्वस्त पारिदिने आत्मघाती र राष्ट्रघाती काम स्वयं हाम्रा नेताहरूले गरिरहेका छन् । राजनीतिक दलको विज्ञान (जसलाई स्टेसियोलोजी भनिन्छ) ले राजनीतिक दललाई सार्वजनिक हित प्रवद्र्धनका लागि एकजुट भएका इमानदार मानिसको समूहका रूपमा विश्लेषण गरेको छ । स्टेसियोजोजीको सो विश्लेषणअनुसार के हाम्रा राजनीतिक दलका नेताहरू इमानदारिताका साथ मुलुक र सार्वजनिक हितका लागि एकजुट भएका छन् त ? पक्कै पनि छैनन् । अहिले हाम्रा राजनीतिक दल एकजुट हुनुको साटो एकले अर्कालाई सखाप बनाउने र एकले अर्काको अस्तित्व नै नामेट बनाउने गलत धुनमा छन् । राजनीतिक दल र तिनका नेताहरूको यही प्रवृत्ति र संस्कारले गर्दा सारा नेपालीहरूले अहिले नपाउने दुःख पाइरहेका छन् । मुलुकमा कोभिडको सन्त्रास छ, कोभिडबाट दैनिक कैयांै मानिस अकाल मृत्युवरण गर्न बाध्य भइरहेका छन् । लगातारको लकडाउनबाट नागरिकहरू बिहान र बेलुकी के खाऊँ भन्ने अवस्थामा पुगेका छन् । तर, सरकार, राजनीतिक दल र तिनका नेताहरूका लागि यो विषय सामान्यजस्तै भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)