हर्मोज जलसन्धीमा सुरक्षित ढुवानीका लागि इरान र ओमानबीच अस्थायी मार्गबारे छलफल
emountaintv.com · Tue Aug 04 04:05:51 GMT 2026
हर्मोज जलसन्धीमा जहाजहरूको सुरक्षित आवतजावत सुनिश्चित गर्न इरान र ओमानबीच एक अस्थायी मार्ग निर्धारण गर्ने विषयमा वार्ता भइरहेको इरानी विदेश मन्त्रालयले जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमवार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा ओमान र इरानबीच यससहितका विभिन्न प्राविधिक पक्षमा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँकाअनुसार ओमानको जलक्षेत्रबाट जाने दक्षिणी मार्ग र इरानको क्षेत्रीय जलक्षेत्रबाट जाने उत्तरी मार्गलाई एउटा साझा मध्यवर्ती मार्गका रूपमा विकास गर्ने अवधारणामा वार्ता केन्द्रित छ । प्रवक्ता बाघेईले यो मार्ग दुई वा तीनवटा अलग मार्ग नभई राउण्ड–ट्रिप कोरिडोर हुने र स्थायी मार्गको टुङ्गो नलागेसम्म यसलाई अस्थायी रूपमा प्रयोग गरिने स्पष्ट पार्नुभयो । जलमार्गमा देखिएको असहजता इरान र ओमानबीचको समस्या नभई इरानविरुद्ध अमेरिका र इजरायलको सैनिक आक्रामकताको परिणाम भएको बाघेईको दाबी छ । उनले अमेरिकाले आफ्ना दुर्भावनापूर्ण गतिविधिहरू बन्द नगरेसम्म जलसङ्धिको अवस्थामा परिवर्तन नआउने चेतावनी समेत दिनुभयो ।
यसैगरी, इरानी विदेशमन्त्री सैयद अब्बास अराक्चीले आईतवार तेहरानमा आयोजित मन्त्रिपरिषद् बैठकमा ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताउनुभएको थियो । आधिकारिक समाचार एजेन्सी इर्नाकाअनुसार इरान यो सम्झौतामार्फत क्षेत्रीय ढुवानीलाई थप व्यवस्थित बनाउन चाहन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)