जीवनप्रति आशावादी नीति
gorkhapatraonline.com · Mon Oct 05 03:13:38 GMT 2026

काठमाडौँको माइतीघर मण्डलामा २०८३ भदौ २३ गते एक युवतीले आत्मदाहको प्रयास गरिन् । गोरखा घर भएकी ३० वर्षीय युवतीले जेनजी आन्दोलनको वर्षगाँठका सन्दर्भमा दीप प्रज्वलन कार्यक्रममा यो प्रयत्न गरेकी हुन् । त्यहाँ उपस्थित सुरक्षाकर्मीको प्रयासले उनले जीवन गुमाउनु परेको छैन तर उनी अपाङ्गता जीवन बिताउने अवस्थामा पुगेकी छन् । उनको यो दुष्प्रयास राजनीतिक मागसँग जोडिएको खबर मिडियामा आएको छ । अन्य कारण छ भने प्रहरी अनुसन्धानले बताउने छ तर यो घटनाले त्रिपुरेश्वरमा गत असार २६ गते आत्मदाह गरेर गणेश नेपालीले जीवन गुमाएपछि खाटा बस्न लागेको घाउलाई फेरि एक पटक कोट्याएको छ ।
कुनै पनि व्यक्तिले आफ्नो शरीरमा आफैँ आगो लगाउनु केवल व्यक्तिगत मानसिक सन्तुलन गुमाउनु मात्र होइन; यसलाई चरम निराशा, आक्रोश र विद्रोहको पराकाष्ठाका रूपमा समेत बुझ्ने गरिएको छ । पछिल्ला वर्षहरूमा नेपालमा आत्मदाहका घटना जसरी शृङ्खलाबद्ध रूपमा देखा परिरहेका छन्; यसले हाम्रो सामाजिक, आर्थिक र राजनीतिक अवस्थामाथि प्रश्नचिह्न खडा गरेको छ । दुई वर्षअघि नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रेमप्रसाद आचार्यले गरेको आत्मदाह होस् वा देशका विभिन्न भागमा आर्थिक दायित्व, कानुनी अन्याय वा पारिवारिक तनावका कारण भएका आत्मदाहका घटना; यी सबैले नेपालमा आत्मदाह एउटा भयानक र डरलाग्दो प्रवृत्तिका रूपमा हुर्कंदै गएको सङ्केत गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)