मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

म्याग्दीको मल्कवाङमा तामाखानीको सम्भाव्यता अध्ययन

abhiyandaily.com

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङस्थित तामाखानीको सम्भाव्यता अध्ययन गरिएको छ । एक शताब्दीअघि बन्द भएका तामाखानीको संरक्षण र उत्खनन गर्न खानी तथा भूगर्भ विभागले अध्ययन प्रक्रिया थालेको हो । दुई चिनियाँ प्राविधिकसहितको टोलीले खानी रहेका ठाउँको अध्ययन गरेको मल्कवाङका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले जानकारी दिए । ‘टोलीले भौगोलिक अवस्था र सुरुङबारे अध्ययन गरेको छ,’ उनले भने, ‘थप अध्ययनका लागि उपकरणसहित टोली फेरि आउनेछ ।’ टोलीले मल्कवाङको ओखरबोट, हिलेखानी र खवाङस्थित तामाखानीको अध्ययन गरेको छ ।

बन्द तामाखानी हाल अलपत्र अवस्थामा छन् । मल्कवाङ नजिकै तामा उत्खनन गर्न खनिएका दर्जनौं सुरुङ संरक्षणको अभावमा बाढीले पुरिँदै छन् । सरकारले तामाखानीको संरक्षण, अनुसन्धान, व्यवस्थापन र उत्खननप्रति चासो देखाएपछि स्थानीयवासी उत्साहित छन् । स्थानीय लालबहादुर छन्त्याल आफ्नो समुदाय परम्परागत पेशामा पुनः फर्किने बताउँछन् । तामाखानी उत्खनन गरिए नयाँ पुस्तामा प्रविधि, ज्ञान र शीप हस्तान्तरण हुने उनको विश्वास छ । विगतमा मल्कवाङको खानीबाट उत्खनन् भएको तामालाई दलित समुदायले आरनमा प्रशोधन गरेर भाँडाकुँडा बनाई म्याग्दी, बागलुङ, पर्वत, कास्कीलगायत ठाउँमा लगेर विक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)