गुटबन्दी अन्त्य गरी विचार र नीतिको राजनीति अघि बढाउनुपर्छ [भिडियो]
hamrakura.com · Mon Oct 05 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको परम्परागत गुटगत संस्कृतिलाई तोड्दै वैचारिक र नीतिगत बहसको राजनीति अघि बढाउनुपर्नेमा जोड दिएका छन्। काठमाडौँमा जारी १५औँमहाधिवेशनको बन्दसत्रलाई सोमबार सम्बोधन गर्दै उपसभापति शर्माले लोकतान्त्रिक पार्टीभित्र फरक मत, प्रश्न र विमतिलाई स्वाभाविक रूपमा स्वीकार्नुपर्ने र गुटको विकल्प अर्को गुट नभई नीति र विचारको राजनीति हुनुपर्ने स्पष्ट पारे।
राजनीतिक संस्कारमा आएको क्षय सुधारको नेतृत्व कांग्रेसले नै लिनुपर्ने बताउँदै शर्माले यो महाधिवेशन केवल नेतृत्व परिवर्तनको मात्र नभई राजनीतिक संस्कार, सङ्गठन र कार्यशैलीमा आमूल परिवर्तन ल्याउने चौतारी हुनुपर्ने उल्लेख गरे। चुनाव जित्ने होडभन्दा पनि नागरिकको विश्वास जित्ने संस्कृति निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, मानसिक स्वास्थ्य, जलवायु परिवर्तन, रोजगारी, प्रविधि र सामाजिक न्यायजस्ता समसामयिक विषयमा पार्टीले निरन्तर नीतिगत बहस अघि बढाउने बताए। ‘परम्पराको सम्मान, परिवर्तनको सङ्कल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस’ भन्ने मूल नाराका साथ अघि बढेको महाधिवेशनले पार्टीको सोच र चरित्रमा नयाँ ऊर्जा भर्ने उनको विश्वास छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)