राजनीतिक दलप्रति बढ्दो अविश्वास
rajdhanidaily.com · Sun Mar 05 23:34:48 GMT 2023
मुलुकमा दिनप्रतिदिन बढेको भ्रष्टाचार, अनियमितता र तस्करीका कारण विकास र प्रगति अवरुद्ध जस्तै भएको छ । जनता राजनीतिक दल, तिनका नेता र शासकको भ्रष्ट चरित्रका कारण वाक्कदिक्क भएका छन् । राजनीति दलप्रति हेर्ने दृष्टिकोण नै गलत हुन थालेको छ । सैद्धान्तिकरूपमा भन्नुपर्दा राजनीतिक दल आधुनिक राजनीतिको जीवनरेखाका रूपमा रहेका छन् । मुलुकलाई बनाउने र बिगार्ने प्रमुख भूमिका राजनीतिक दलकै हो । उदार एवं प्रजातान्त्रिक समाजमा त राजनीतिक दलले जीवनका हरेक पक्षलाई प्रभावित पार्ने गर्छ । नेपालमा राजनीतिक दलको भूमिकालाई सूक्ष्मरूपमा अध्ययन गर्ने हो भने सरकारमा गएर सत्ता चलाउन र सुशासन कायम गराउन करिब करिब उनीहरू असफल हुँदै आएका छन् । शासनसत्ता नै परिवर्तन गराउन निकै ठूलो भूमिका खेल्दै आएका यहाँका राजनीतिक दल सत्ता सञ्चालनका दृष्टिले भने त्यति सफल देखिन सकेका छैनन् ।
संघीय शासन व्यवस्थाको अभ्यास भइरहँदा यो शासन व्यवस्था सञ्चालनमा पनि ठूला ठूला समस्या आइरहेका छन् । यसको मुख्य कारण नै राजनीतिक दल र तिनका असक्षम नेताका कारण नै हो भन्दा अत्युक्ति नहोला । अहिले देखिएका विभिन्न समस्याको समाधान तत्काल नगर्ने हो भने संघीय शासन प्रणालीको सफलतामा नै गम्भीर आघात पर्न सक्छ । त्यसैले यो शासन व्यवस्था ल्याउन महत्वपूर्ण भूमिकामा रहेका कांग्रेस, एमाले र माओवादीले नै शासन व्यवस्थालाई सफल बनाउन अग्रगामी भूमिका निर्वाह गर्न सक्नुपर्छ । मुलुकमा देखिएको रोग, भोक, अशिक्षा , गरिबी, विपन्नता हटाउने विषयमा पनि हाम्रा राजनीतिक दलबीच विशेष प्रकारको सहकार्य र एकता अत्यावश्यक छ । दल सञ्चालन गर्ने अगुवाहरू असल र इमानदार बन्न सक्ने हो भने शासकीय व्यवस्था पनि सफल हुँदै जान्छ । हुन त हामीले विगतमा धेरै प्रकारका शासकीय व्यवस्थाको अभ्यास गरेका हांै ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)