मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चारकोशे झाडीमा ‘वनलाई बगैँचा’ अभियान

gorkhapatraonline.com · Mon Jun 08 04:44:33 GMT 2026

पूर्वी नेपालको जैविक विविधताको महत्वपूर्ण आधार मानिने चारकोशे झाडी क्षेत्रमा वन्यजन्तु संरक्षण, प्राकृतिक बासस्थान व्यवस्थापन तथा मानव–वन्यजन्तु द्वन्द न्यूनीकरण गर्ने उद्देश्यसहित सञ्चालन गरिएको ‘वनलाई बगैँचा बनाऔँ’ अभियानले संरक्षण क्षेत्रमा नयाँ आशा जगाएको छ। छ वर्षअघि इटहरीका सामाजिक अभियन्ता ध्रुवराज घिमिरेले निजी पहल र व्यक्तिगत लगानीबाट सुरु गरेको यो अभियान अहिले संघीय सरकारका मन्त्री, सांसद, वन प्रशासन, संरक्षणकर्मी तथा स्थानीय समुदायको चासोको विषय बनेको छ।

चारकोशे झाडी क्षेत्रभित्र वनलाई बगैँचा बनाउने अभियानअन्तर्गत विभिन्न प्रजातिका फलफूलका बिरुवा रोप्न कृषि तथा वन तथा वातावरण मन्त्री गीता चौधरी, प्रतिनिधिसभाअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरी, वन मन्त्रालयका सचिव, वन विभागका महानिर्देशक, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव, वन क्षेत्रका प्राविधिक, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि तथा संरक्षण अभियन्ताहरू सहभागी हुनुभएको छ।

सुनसरी जिल्लाअन्तर्गत पर्ने चारकोशे झाडीको वन क्षेत्रमा यस अभियानअन्तर्गत वन्यजन्तु तथा चराचुरुङ्गीको आहार व्यवस्थापन गर्ने उद्देश्यले हालसम्म एक हजार दुई सयभन्दा बढी फलफूलका बिरुवा रोपिएका छन्। अभियानका अनुसार विगत छ वर्षमा चारकोशे झाडी क्षेत्रमा पाँच हजारभन्दा बढी फलफूलका बिरुवा रोपिसकिएको छ।

पछिल्लो समय पूर्वी नेपालका सुनसरी, मोरङ, झापा लगायतका जिल्लामा बाँदरको समस्या बढ्दै गएको, वन्यजन्तुहरू खाद्यान्नको खोजीमा मानव बस्ती प्रवेश गर्ने क्रम तीव्र बनेको तथा खेतीपातीमा क्षति पुग्ने घटनाहरू बढिरहेका बेला वनभित्रै आहारको स्रोत विस्तार गरेर दीर्घकालीन समाधान खोज्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो।

वन क्षेत्रमा फलफूलका बिरुवा रोप्ने कार्यक्रममा सहभागी संघीय सरकारकी कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले संरक्षणको परम्परागत अवधारणाभन्दा माथि उठेर वन्यजन्तुको जीवनचक्र, आहार, बासस्थान र पर्यावरणीय सन्तुलनलाई केन्द्रमा राखेर सोच्नुपर्ने समय आएको बताउनुभयो।

उहाँले भन्नुभयो, “हामीले वर्षौंदेखि वन संरक्षणका कुरा गरिरहेका छौँ। वन जोगाउने, वृक्षारोपण गर्ने र हरियाली बढाउने कार्यक्रम धेरै भए पनि वन्यजन्तुको आवश्यकताबारे पर्याप्त ध्यान दिन सकिएको छैन। वन्यजन्तु किन गाउँ पस्छन् भन्ने प्रश्नको उत्तर खोज्नुपर्छ। उनीहरू रमाइलोका लागि होइन, भोक र बासस्थान अभावका कारण गाउँ पस्छन्।”

मन्त्री चौधरीले वनभित्र फलफूलका बिरुवा रोप्ने अभियानलाई मानव–वन्यजन्तु द्वन्द न्यूनीकरणको व्यावहारिक र वैज्ञानिक उपायको रूपमा व्याख्या गर्दै यसको प्रशंसा गर्नुभयो।

उहाँले भन्नुभयो, “यदि वन क्षेत्रभित्र पर्याप्त फलफूल, बीउबिजन र प्राकृतिक आहारको व्यवस्था गर्न सकियो भने बाँदर, चराचुरुङ्गी, हरिण तथा अन्य वन्यजन्तुहरू गाउँ पस्नुपर्ने अवस्था कम हुँदै जान्छ। वन्यजन्तुको पेट वनमै भरिने वातावरण निर्माण गर्नु नै दीर्घकालीन समाधान हो।”

उहाँले यस्ता अभियानलाई राज्यले थप प्राथमिकता दिने प्रतिबद्धता जनाउँदै जनस्तरबाट सुरु भएका प्रयासले समाजलाई सही दिशातर्फ डोर्‍याउने बताउनुभयो।

प्रतिनिधिसभा सदस्य तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले चारकोशे झाडीमा सञ्चालन भइरहेको अभियानलाई नमूना संरक्षण कार्यक्रमको संज्ञा दिनुभयो।

उहाँले मानव–वन्यजन्तु द्वन्द बढ्दै जाँदा सर्वसाधारण प्रभावित भएको र वन्यजन्तु पनि असुरक्षित बनेको उल्लेख गर्दै यसले पर्यावरणीय सन्तुलनमा असर पारिरहेको बताउनुभयो। उहाँले वन क्षेत्रमा वन्यजन्तुको आहार व्यवस्थापनलाई विशेष अभियानका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले वन क्षेत्रमा फलफूल र खाद्य स्रोत विस्तार गर्ने कार्यक्रमलाई राज्यको नीति र योजनासँग जोड्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै, चारकोशे झाडीमा सुरु भएको अभियानलाई अन्य प्रदेश र वन क्षेत्रमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

अभियानका अगुवा ध्रुवराज घिमिरेले छ वर्षअघि वन्यजन्तुको अवस्था नजिकबाट देखेपछि आफ्नै निजी पहल र लगानीमा अभियान सुरु गरिएको बताउनुभयो। पछि यसलाई संस्थागत गर्दै ‘सामुदायिक प्रकृति संरक्षण अभियान नेपाल’ नामक संस्था गठन गरी नियमित रूपमा फलफूलका बिरुवा रोप्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “हामीले बाँदर, चराचुरुङ्गी र अन्य वन्यजन्तुहरू आहारको खोजीमा गाउँ पसिरहेको देख्यौँ। वन क्षेत्रमा आहारको अभावले उनीहरू बाध्य भएर मानव बस्तीमा आउन थालेपछि वनलाई नै फलफूलको बगैँचा बनाउने सोच आएको हो।”

उहाँले सरकारी सहयोग अभाव रहेको उल्लेख गर्दै राज्यले आवश्यक प्राविधिक तथा संस्थागत सहयोग गरे चारकोशे झाडीलाई वन्यजन्तुको प्राकृतिक फलफूल उद्यानका रूपमा विकास गर्न सकिने बताउनुभयो।

संरक्षणकर्मीहरूका अनुसार यो अभियान वन व्यवस्थापनको नयाँ मोडलका रूपमा विकसित हुँदै गएको छ। वन्यजन्तुलाई वनमै आहार उपलब्ध गराउने, जैविक विविधता संरक्षण गर्ने र मानव–वन्यजन्तु द्वन्द घटाउने उद्देश्यले सुरु भएको यस अभियानले दीर्घकालीन रूपमा पूर्वी नेपालको संरक्षण प्रयासलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)