कोहलपुरका विद्यालय तीन दिन बिदा
gorkhapatraonline.com · Mon Jun 08 05:34:21 GMT 2026

बाँकेको कोहलपुर नगरपालिकाका विद्यालयहरुमा सोमबारदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिइएको छ । पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले विद्यालयहरूमा तीन दिन बिदा दिने निर्णय गरेको हो ।
उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले यो निर्णय गरेको जनाएको छ ।
कोहलपुर नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल मिजारका अनुसार जेठ २५ देखि २७ गतेसम्म तीन दिन नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूमा नियमित पठनपाठन स्थगन गरिएको छ ।
मौसमको अवस्था तत्काल सुधार हुने सम्भावना नदेखिएको र तापक्रम लगातार बढ्दो क्रममा रहेकाले विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राखेर बिदा गरिएको उहाँले बताउनुभयो । हालका लागि तीन दिन विद्यालय बन्द रहने भए पनि मौसमको अवस्थाअनुसार आगामी दिनमा बिदा थप गर्न सकिने पनि उहाँले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)
मौसम