मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

kendrabindu.com · Fri May 15 10:47:32 GMT 2026

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या एक हजार २६० पुगेको छ । गत पाँच महिना अर्थात् सन् २०२६ मा मात्र ३९ जना सङ्क्रमित थपिएको भरतपुर अस्पताल एआरटी केन्द्रका डा प्रमोद पौडेलले जानकारी दिए ।

सङ्क्रमितले पहिचान लुकाउँदा एचआइभी हुनेको सङ्ख्या वृद्धि हुने जोखिम बढेको र निर्दाेष व्यक्ति सङ्क्रमित हुने गरेको डा पौडेलले बताए । जिल्लामा रहेका सङ्क्रमितमध्ये ६१६ जना पुरुष, ५९८ जना महिला, २८ जना बालबालिका र १८ जना तेस्रोलिङ्गी रहेका छन् ।

अस्पतालमा उपचार र औषधिका लागि आउने बिरामीमध्ये चितवनका ८६८ जना, नवलपरासीका २६७ जना, मकवानपुरका २५ जना, तनहुँका ३३ जना, गोरखाका ३० जना र तराई भेगका ३७ जना रहेको डा पौडेलले जानकारी दिए ।

चितवन जिल्लाका सङ्क्रमितमध्ये भरतपुर महानगरपालिकाका ४७७ जना, रत्ननगरका १०१ जना, खैरहनी नगरपालिकाका ६१ जना, राप्ती नगरपालिकाका ५९ जना, कालिका नगरपालिकाका ५६ जना, इच्छाकामना गाउँपालिकाका १३ जना, माडी नगरपालिकाका १२ जना रहेका छन् । डा पौडेलले भने, “सरकारी स्वास्थ्य संस्थामा ‘कण्डम’ वितरणमा कमी आउँदा समस्या आएको हो, एचआइभी एड्स न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धिसहित एकीकृत कार्यक्रम सञ्चालन हुन आवश्यक छ ।”

एएचएफ नेपाल भरतपुर अस्पतालका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०२६ मा मात्र ७१ जना नयाँ एचआइभी एड्स सङ्क्रमित औषधि सेवन गर्न आएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)