निरोगिताको प्रमाणपत्र अनिवार्य
gorkhapatraonline.com · Tue Oct 06 04:43:32 GMT 2026

दसैँलक्षित मुस्ताङबाट बाहिरिन थालेका भेडाच्याङ्ग्राको अनिवार्य स्वास्थ्य परीक्षण सुरु गरिएको छ । जिल्लाबाट बाहिरिने भेडाच्याङ्ग्रा बिरामी वा अन्य रोग भएमा उपचार गर्न कृषि तथा पशु विकास कार्यालय मुस्ताङले खोरमै पुगेर परीक्षण गरी निरोगिताको प्रमाणपत्र दिएर मात्रै जिल्लाबाहिर पठाउने गरिएको छ । डोल्पा जिल्लाको बुद्ध गाउँपालिकाबाट आएको र मुस्ताङका कृषकले बिक्री गरेका गरी दुई हजार भेडाच्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी बजारमा पठाएको कार्यालयका प्रमुख डा. लालमणि अर्यालले बताउनुभयो ।
निरोगिताको प्रमाणपत्र नभएका भेडाच्याङ्ग्रालाई नाकामै रोकिन्छ, हालसम्म परीक्षण गरेकामा रोग देखिएको छैन, लामो यात्रामा चोट लागेकाको उपचार र जिल्लाभित्रै वध गर्न अनुरोध गरिएको छ,” प्रमुख डा. अर्यालले भन्नुभयो । एकल तथा सामुहिक खरिद गरी ल्याइएको भेडाच्याङग्रामा ज्वरोलगायत शारीरिक परीक्षण गरेपछि मात्रै ७२ घण्टाभित्र थासाङ गाउँपालिकाको घाँसाबाट बाहिरिने गरी स्वास्थ्य परीक्षण कार्ड दिने गरिएको कार्यालय प्रमुख डा. अर्यालको भनाइ छ । चाडपर्वमा मुस्ताङबाहेक डोल्पा र चीनको तिब्बतलगायतका क्षेत्रबाट आउने भेडाच्याङग्रा लुकिछिपी जिल्लाबाहिर लगेको पाइएमा जरिबाना गरी पुनः परीक्षण गरी व्यापारीलाई दिने गरिएको डा. अर्यालले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)