रौतहटमा एक पुरुष मृत फेला
gorkhapatraonline.com · Mon Jun 08 06:10:01 GMT 2026

रौतहटको गढीमाई नगरपालिकामा एक पुरुष मृत अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार सोमबार बिहान करिब ६ बजे गढीमाई नगरपालिका–४, सुन्दरपुरस्थित समनपुर–गरुडा सडकखण्डको छेउमा एक पुरुषको शव प्रहरीले फेला पारेको हो । सूचना प्राप्त भएपछि घटनास्थल पुगेको थियो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक मुन्ना पासवानको नेतृत्वमा खटेको टोलीले घटनास्थलको निरीक्षण गर्दा हालसम्म नाम, थर र ठेगाना नखुलेको अन्दाजी ४०–४५ वर्षका पुरुष मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको र टाउकोमा चोट लागेको अवस्थामा भेटिएको हो । घटनाको प्रकृति बुझ्न तथा आवश्यक प्रमाण सङ्कलनका लागि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्वल क्षेत्रीको नेतृत्वमा क्राइम सिन म्यानेजमेन्ट टोलीसमेत घटनास्थल पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक बसन्त गौतमले मृतकको पहिचान खुल्न नसकेको बताउनुहुँदै घटनाको कारण र मृत्युको वास्तविक अवस्थाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । उहाँका अुनसार प्रहरीले मृतकको सनाखत तथा घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)