वैजनाथ माविलाई इन्जिनीयरिङ अध्ययन अनुमति
abhiyandaily.com
काठमाडौं । कञ्चनपुरस्थित भीमदत्त नगरपालिका–४ मा रहेको वैजनाथ माध्यमिक विद्यालयले इन्जिनीयरिङ अध्यापनका लागि अनुमति पाएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले तीनवर्षे डिप्लोमा इन सिभिल इन्जिनीयरिङका लागि विद्यालयलाई अनुमति दिएको हो । अनुमति पाएसँगै यसै शैक्षिक सत्रदेखि इन्जिनीयरिङ अध्यापन गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अच्युतराज कलौनीले जानकारी दिए ।
‘सिभिल इन्जिनीयरिङका लागि भर्ना शुरू गरिसकेका छौं,’ उनले भने, ‘४० जनाको सिट संख्या निर्धारण गरिएको छ । सिभिल इन्जिनीयरिङमा भर्ना हुन प्रवेश परीक्षामा सहभागी हुनुपर्छ ।’ ग्रामीण क्षेत्रमा प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै आएको वैजनाथ कञ्चनपुरका अब्बल विद्यालयमध्ये एक मानिन्छ । विद्यालयमा इन्जिनीयरिङसँगै कृषि प्राविधिक शिक्षा, आईएससी, आईएड, आईकम लगायत शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । ‘यस विद्यालयलाई प्राविधिक शिक्षाको हब बनाउने हाम्रो लक्ष्य हो,’ अध्यक्ष कलौनीले भने । विद्यालयमा हाल करीब ८०० जना विद्यार्थी अध्ययनरत छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)