असंलग्नता केही नगरी बस्ने नीति होइन— परराष्ट्र मन्त्री साउद
dcnepal.com · Tue Oct 31 18:59:35 GMT 2023
वासिंगटन डिसी । नेपालका परराष्ट्र मन्त्री एनपी साउदले नेपालको असंलग्न परराष्ट्र नीतिको अर्थ केही नगरी बस्नु नभएको बताएका छन् । अमेरिकाको राजधानी वासिंगटन डिसीस्थित थिंक ट्यांक संस्था युनाइटेड स्टेट इन्टिच्युट फर पिस(युएसआईपी)द्वारा आयोजित टक प्रोग्राममा मंगलबार उनले सो कुरा बताएका हुन् । नेपालको विदेश नीतिमा भएको असंग्लनताबारे उठ्ने विविध बौद्धिक प्रश्नहरुको सन्दर्भमा उनले असंलग्न नीति भनेर केही नगरी बस्ने नभई विश्वका परिघटनाहरुको गम्भीरतापूर्वक अध्ययन गरेर मेरिटका आधारमा प्रतिक्रिया जनाउने असंलग्नताको नेपाल नीति रहेको व्याख्या गरेका थिए । उनले विश्व शक्ति सन्तुलन तीब्ररुपमा परिवर्तित भइरहेको सन्दर्भमा असंलग्नताको नेपालको विदेश नीति अझ सान्दर्भिक भएको दावी पनि गरेका थिए । असंलग्नता, पञ्चशील र संयुक्त राष्ट्र संघको घोषणापत्रमा नेपालको विदेश नीति आधारित रहेको उनले अमेरिकी विद्वानहरुलाई बताएका थिए ।
डिसीको सो कार्यक्रममा मन्त्री साउदले दुई ठूला अर्थतन्त्रका बीचमा रहेको नेपालले ती अर्थतन्त्रबाट फाइदा लिन चाहेको उल्लेख गर्दै भारत र चीनसंगको सम्बन्ध मित्रवत र पुरानो रहेको एवं एकअर्काको चासोमा आपसी सहयोग र सुझबुझ रहेको पनि बताएका थिए । सार्वभौमिकता, भौगोलिक अखण्डता र तटस्ताको आधारमा “सबैसंग मित्रता” को विदेश नीति नेपालले अंगीकार गरेको उनले बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)