देशभर बदली र वर्षाको सम्भावनाः केही स्थानमा भारी वर्षा हुने
emountaintv.com · Wed Aug 05 04:23:44 GMT 2026
काठमाडौँ । देशभरको मौसममा बदली आई विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकाअनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । यस क्रममा देशका हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। पहाडी भू–भागका धेरै स्थानहरू तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको पूर्वानुमान गरिएको छ । विशेषगरी कोशी र वागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भाग, एवं लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसैगरी, रातिको समयमा पनि देशभर साधारणतया बदलीकै अवस्था रहनेछ। हिमाली भू–भागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना कायमै रहने विभागले जनाएको छ । कोशी, वागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।
Share this:
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)