मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिनको माग [भिडियो]

hamrakura.com · Mon Jun 08 00:00:00 GMT 2026

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले बजेट निर्माणका क्रममा करका दर हेरफेर र सूचना चुहावट भएको आरोप लगाउँदै निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएका हुन्।

उनले करका दरसम्बन्धी जानकारी अर्थमन्त्री र अर्थमन्त्रीले तोकेका सीमित व्यक्तिलाई मात्र हुने दाबी गर्दै सूचना चुहावटकै कारण सात सय ५३ ओटा बीवाइडी गाडी भन्सार पास भएको आरोप लगाए।

उनले सरकार आफैंले छानबिन समिति गठन गरेर कर्मचारीलाई दोषी देखाउन खोजेको भन्दै त्यसप्रति आपत्ति जनाए।

शाहीले संसदमा प्रस्तुत बजेटमा छेडछाड भएको र करका दर चुहावट गरिएको आरोपमा अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने बताए। उनका अनुसार यस्तो विषयमा सरकारले होइन, संसदले नै स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्छ।

उनले करका दर चुहावट जस्तो कार्य प्रमाणित भए त्यसमा संलग्न व्यक्तिमाथि कडा कानूनी कारबाही हुनुपर्ने धारणा राख्दै राजद्रोहसम्बन्धी मुद्दासमेत चलाउनुपर्ने बताए।

सुशासनको नारा दिएर आएको सरकारले कुशासनको बाटो लिन नहुने चेतावनी दिँदै शाहीले बजेट निर्माण प्रक्रियालाई पारदर्शी र जवाफदेही बनाउन माग गरे।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)