बैंकहरूको निक्षेप ८० खर्ब माथि, ऋण दिन मिल्ने रकम साढे १३ खर्ब
corporatenepal.com · Mon Jun 08 09:59:01 GMT 2026

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप पहिलो पटक ८० खर्ब रूपियाँ माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको जेठ २० गते सम्मको तथ्यांकले बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप सो विन्दुमा पुगेको देखाएको हो । नेपालमा पहिलो पटक बैंक तथा वित्तीय संस्थामा भएको निक्षेप ८० खर्ब रूपियाँ पुगेको हो ।
निक्षेप बैंक तथा वित्तीय संस्थामा जेठ १९ गते ८० खर्ब १० अर्ब रूपियाँ र जेठ २० गते ८० खर्ब २० अर्ब रूपियाँ निक्षेप पुगेको छ । माघ २० गतेसम्म वाणिज्य बैँकहरूमा ७२ खर्ब ३७ अर्ब रूपियाँ र अन्य बैंक तथा वित्तीय संस्थामा सात खर्ब ८३ अर्ब रूपियाँ निक्षेप छ । बढ्दो रेमिट्यान्स लगायतका कारण बैँकहरूमा निक्षेप बढ्दो क्रममा छ ।
Advertisement
यस अवधिसम्म आउँदा बैँकहरूको कुल कर्जा प्रवाह भने ५९ खर्ब ६ अर्ब रूपियाँ पुगेको छ । त्यसमा वाणिज्य बैंकहरुले ५२ खर्ब ५६ अर्ब रूपियाँ र अन्य बैंक तथा वित्तीय संस्थाले ६ खर्ब ५० अर्ब रूपियाँ कर्जा प्रवाह गरेका छन् ।
ऋण दिन मिल्ने पैसा १३ खर्ब ६५ अर्ब
तथ्यांक अनुसार बैँकहरूमा ऋण दिन मिल्ने पैसा भने १३ खर्ब ६५ अर्ब रूपियाँ रहेको छ । हाल बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सिडी) रेसियो ७२.९७ प्रतिशत छ ।
बैंकहरुले सिडी रेसियो ९० प्रतिशतसम्म पुग्ने गरि कर्जा प्रवाह गर्न पाउँछन् । त्यसअनुसार अझै निक्षेपको १७.०३ प्रतिशत रकम कर्जा दिन मिल्नेछ, जुन रकम १३ खर्ब ६५ अर्ब ८० करोड रूपियाँ हुनेछ ।
तर, पछिल्लो समय आर्थिक शिथिलताका कारण कर्जाको माग नहुँदा बैँकहरूमा ऋण दिन मिल्ने पैसा थुप्रिएको छ । बैंकहरुले ब्याजदर निरन्तर घटाउँदा पनि ऋणको माग बढ्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ