सप्तकोशीमा पानीको बहाव उच्च : ३० ढोका खोलियाे
annapurnapost.com · Thu Aug 06 09:18:29 GMT 2026

सुनसरी : पूर्बी पहाडी जिल्लाहरुमा लगातारको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । सप्तकोशीमा पानीको बहाव बढेर प्रतिसेकेन्ड २ लाख १८ हजार ३ सय क्युसेक पुगेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएको छ । बहाव जोखिमको तहभन्दा धेरै माथि पुगेपछि खतराको संकेत स्वरूप रातो बत्ति बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काले जानकारी दिए ।
सप्तकोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । अहिले बहाव त्यसभन्दा झण्डै ७० हजार क्युसेक बढी पुगेकाले कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । नदी किनारमा अनावश्यक रूपमा नजान, माछा मार्न वा डुंगा सञ्चालन नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी गरिएका सूचनाको पालना गर्न प्रहरीले अनुरोध गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)