दसैँ आगमनसँगै मादल बनाउन व्यस्त
gorkhapatraonline.com · Thu Oct 08 01:45:44 GMT 2026

घोराही उपमहानगरपालिका–१७, पछुर्काका ७१ वर्षीय मादल कारिगर चित्रबहादुर बादीलाई यतिबेला मादल बनाउन भ्याइ नभ्याइ छ । दसैँ नजिकिएसँगै थारूगाउँमा सख्यापैयाँ नाच सुरु भएपछि उहाँलाई मादलको माग पूरा गर्न चटारो परेको हो ।
१२ वर्षको उमेरबाट मादल बनाउँदै आएका बादीले मादल बनाउने सिप बाजे र बुवाबाट सिक्नुभएको हो । उहाँले भन्नुभयो, “पहिला बाजेले मादल बनाउनुहुन्थ्यो, त्यसपछि बुवाले पनि बनाउनुभयो । उहाँहरूबाटै सिकेर मैले पनि बनाउन थालेँ ।” पहिले थारू समुदायमा दसैँ, माघीलगायतका चाडपर्वमा नाचगानका लागि मादलको माग धेरै हुने गरेको उहाँको अनुभव छ । गाउँमा हुने सांस्कृतिक नाचका लागि आवश्यक पर्ने मादल बनाउन वर्षभरि नै काम आउने भए पनि दसैँको समयमा माग धेरै बढ्ने गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार एउटै थारूगाउँका लागि २०–२५ वटा मादल बनाउनु पर्छ । दसैँमा एक महिनासम्म थारूगाउँमा सख्या नाच्ने परम्परा छ । उहाँले भन्नुभयो, “अहिले दसैँ आउन लागेको छ । मादल बनाउन भ्याइ नभ्याइ छ ।”