राजनीतिमा युवा अझै पछाडि
rajdhanidaily.com · Sun Jan 02 23:30:48 GMT 2022
यतिबेला नेकपा एमाले, नेपाली कांग्रेसलगायत राजनीतिक दलका केन्द्रीय अधिवेशन सकिएका छन् । नेकपा माओवादीको भने यो आलेख तयार पार्दासम्म अधिवेशन सञ्चालन हुँदै थियो । आजसम्म उसको पनि नेतृत्व चयनसम्बन्धी स्पष्ट खाका आइसकेको हुनुपर्छ । सबैजसो दलमा मुख्य नेतृत्व पुरानै अनुहार दोहोरिएको पाइन्छ । सबै दलले राजनीतिमा युवालाई महत्व दिएको भने पनि आजसम्मको अवस्थालाई हेर्दा युवा नेतृत्व पुस्तान्तरण (प्रौढबाट युवामा सर्ने) त धेरै परको विषय भयो हस्तान्तरण (समकक्षीलाई नेतृत्व छाडने)सम्म पनि सहजै हुन सकेको छैन । यसले गर्दा सबैजसो राजनीतिक दलमा युवाको उपस्थिति नगण्य नै देखिन्छ । राप्रपामा उमेरगत हिसाबले नेतृत्वमा युवा अनुहार आए पनि विचारका हिसाबले भने ती अनुहारले पुरातन पन्थकै अनुुसरण गर्ने देखिन्छ । यसर्थ नेतृत्वसँगै विचार र दृष्टिकोणमा पनि युवापन (नवीनता) आउन जरुरी छ ।
नेपाली कांग्रेसभित्र गगन थापा र विश्वप्रकाश शर्माको उदय परम्परावादी नेतृत्वको चाहनाविपरीत आफ्नै पहलको प्राप्ति मात्र हो । सो पार्टीभित्र प्रदीप पौडेलको युवा जोस र हिम्मत अन्य युवाहरूका लागि पनि अनुकरणीय छ । नेकपा एमालेमा त पुस्तान्तरणभन्दा हस्तान्तरणका लागि समेत कार्यकर्ता इच्छुक देखिएनन् । गत अधिवेशनमा भीम रावलको झिनो मतविरुद्ध पार्टी अध्यक्षमा केपी शर्मा ओलीले पाएको प्रचण्ड मतले यही कुराको संकेत गर्छ । यद्यपि, सो दलमा जिल्ला तथा प्रदेश तहका लागि भने युवाहरूको प्रतिनिधित्व उल्लेख्य रूपमा भएको छ । केही दिनपछि जिल्ला नेतृत्वको निक्र्योल हुँदा वास्तविक युवा कति भित्रिए त्यतिबेला मात्र समीक्षा गर्न सकिएला । पुस्तान्तरण नचाहे पनि नेपाली कांग्रेसभित्र हस्तान्तरण चाहनेहरू अधिक रहेछन् भन्ने कुरा पार्टी सभापतिमा शेरबहादुर देउवाविरुद्ध शेखर कोइरालाले पाएको प्रतिस्पर्धी मतले पुष्टि गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)