छाउगोठ छाड्दा लाञ्छना, बस्दा यातना
ekantipur.com · Thu Aug 28 17:23:52 GMT 2025

मेल्लेख अछाम र कञ्चनपुर — मेल्लेख गाउँपालिका–५ कुस्कोटको अलानी गाउँकी १५ वर्षीया सुस्मिता नेपाली सिधा उभिन पनि नमिल्ने ढुंगाले छाएको, चुहिने छाउगोठमा हरेक महिना ६ दिन बस्छिन् । उनी बस्ने छाउगोठको ढोका सानो छ । चुकुल र झ्याल नभएको छाउगोठमा बर्खा झरी र हिउँदको शीत छल्न आगो पनि बाल्छिन् । एक जना पनि सहजै बस्न नमिल्ने छाउगोठमा धेरै जना महिनावारी भएका बेला ५ जनासम्म सुत्ने गरेको उनी बताउँछिन् ।
करिब ५ वर्ष अगाडि गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन, प्रहरी र स्थानीय जनप्रतिनिधिले सुस्मिताको छाउगोठ पनि भत्काइदिए । त्यो बेला उनकी आमा थेबा नेपाली र फुपूहरू घरकै एक कोठामा बसे । महिनावारीका बेला घरमा बस्दा देउता रिसाएर अनिष्ट भएको भन्दै फेरि छाउगोठ बनाइयो । धेरै पटक महिनावारी भएका बेला अनिँदो बसेको सुस्मिता बताउँछिन् । ‘कुनै बेला आमा, फुपू, दिदीहरू सँगै महिनावारी हुन्छौं । त्यति बेला सुत्ने ठाउँ नभएर अनिँदो बस्नुपर्छ । कहिलेकाहीं गोठमा एक्लै हुँदा डर लाग्छ,’ सुस्मिता भन्छिन्, ‘रक्सी खाएर मातेकाहरूले पहिले पनि छाउगोठमा बसेका दिदीहरूलाई दुःख दिन्थे । अहिले पनि रातिको समयमा त्यस्तै डर लाग्छ ।’ महिनावारी भएको ६ दिनसम्म सुत्न, खान, शौचालय जान गाह्रो हुने गरेको उनले बताइन् । ‘कति रात डरले रोएरै बित्ने गरेका छन् । देउताको डर देखाएर घरमा बस्न दिँदैनन्,’ सुस्मिता भन्छिन्, ‘छाउगोठमा निसासिएर, सर्पले टोकेर, कठ्यांग्रिएर मरेका समाचार सुन्दा झन् धेरै डर लाग्छ । छाउगोठमा बलात्कार भएका समाचार सुन्दा मन आतिन्छ । तर हाम्रो पीडा कसैले बुझ्दैनन् ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)