६ महानगरले पाए पौने १२ अर्ब अनुदान, पोखरालाई सबैभन्दा धेरै, कसले कति पाए ?
ratopati.com · Mon Jun 08 11:41:05 GMT 2026

काठमाडौँ । देशका ६ महानगरपालिकाले सङ्घीय सरकारबाट पौने १२ अर्ब रुपैयाँ अनुदान पाएका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को अन्तर सरकारी वित्तीय हस्तान्तरण सम्बन्धी विवरण अनुसार ती महानगरहरूले ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान पाएका हुन् ।
महानगरपालिकामध्ये पोखराले सङ्घीय सरकारले दिने अनुदान सबभन्दा धेरै पाएको छ । विवरण अनुसार पोखराले ३ अर्ब १८ करोड ९० लाख अनुदान पाएको छ । जसमा समानीकरण अनुदान ४९ करोड ६७ लाख, सशर्त अनुदान २ अर्ब ६१ करोड ९१ लाख, समपूरक अनुदान ५ करोड ५० लाख र विशेष अनुदान १ करोड ८२ लाख छ ।
काठमाडौँ महानगरपालिकाले २ अर्ब २७ करोड ८८ लाख अनुदान पाएको छ । जसमा १ अर्ब ६० करोड १८ लाख सशर्त अनुदान छ भने ६७ करोड ७० लाख समानीकरण अनुदान छ । काठमाडौँले विशेष र समपूरक अनुदान पाएको छैन ।
चितवनको भरतपुर महानगरले २ अर्ब ५ करोड १७ लाख अनुदान पाएको छ । जसमा १ अर्ब ६१ करोड ७ लाख सशर्त र ३९ करोड ६५ लाख समानीकरण अनुदान पाएको छ । यस्तै २ करोड ५० लाख समपूरक र १ करोड ९५ लाख विशेष अनुदान पाएको छ ।
वीरगन्ज महानगरपालिकाले १ अर्ब ९८ करोड ९ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये १ अर्ब ६० करोड ६७ लाख रुपैयाँ सशर्त अनुदान, ३५ करोड ३५ लाख समानीकरण अनुदान, ४० लाख विशेष अनुदान र १ करोड ६७ लाख समपूरक अनुदान पाएको छ ।
ललितपुर महानगरपालिकाले १ अर्ब १४ करोड ५९ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये ७६ करोड सशर्त अनुदान र ३८ करोड ५९ लाख समानीकरण अनुदान पाएको छ । ललितपुरले विशेष र समपूरक अनुदान भने पाएको छैन ।
विराटनगर महानगरपालिकाले १ अर्ब ७ करोड २८ लाख रुपैयाँ अनुदान पाएको छ । जसमध्ये ७३ करोड ८५ लाख सशर्त अनुदान र समानीकरण अनुदान ३३ करोड ४३ लाख रुपैयाँ पाएको छ । विराटनगरले पनि विशेष र समपूरक अनुदान पाएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)