हिमपातपछि भूकम्पपीडित थप विपत्मा
ekantipur.com · Mon Mar 04 00:46:59 GMT 2024
सुर्खेत — त्रिपालको कष्टकर बसाइपछि जाजरकोटको बारेकोट गाउँपालिकास्थित जिरीका गोविन्द विकको परिवार फागुन दोस्रो साता अस्थायी टहरामा सर्यो । साढे ३ महिना हिउँदे चिसो जसोतसो काटेर अस्थायी टहरामा फर्किएको विकको ८ जनाको परिवारलाई शनिबारको हिमपातले झन् ठूलो समस्यामा पार्यो ।
‘घर वरिपरि हिउँ नै हिउँ छ, न्याना लुगा पनि छैनन्, हिजो (शनिबार) देखि परिवारका सबै जना रातभर आगो बालेर जाग्राम बस्न थालेका छौं,’ उनले भने, ‘अब हिउँ नपग्लिँदासम्म बाहिर निस्कने र राम्ररी सुत्ने अवस्थै छैन ।’ उनका छिमेकी बलबहादुर नेपालीको ७ जनाको परिवार पनि शनिबार रातभर आगो बालेरै जाग्राम बस्यो । अस्थायी टहराका प्वाल टाल्न पुराना लुगा प्रयोग गरे पनि त्यसले सिरेटो थेग्न नसकेको उनले बताए । ‘धन्न त्रिपालमुनिको बसाइका बेला हिउँ परेन, अहिले हिमपातपछि यति चिसो बढेको छ कि आगो छोडेर एकछिन पनि बस्न सकिँदैन,’ बलबहादुरले भने, ‘अत्यधिक चिसोका कारण हातखुट्टा लुला हुने, झमझमाउनेजस्ता समस्या देखिन थालेको छ, चिसो थेग्न नसक्ने वृद्धवृद्धा, बालबालिका र रोगी/बिरामीलाई टहरामा निकै सकस हुने देखिन्छ ।’ उनका ६१ वर्षीय बुबा दमका रोगी हुन् भने ६० वर्षीया आमा मधुमेह र उच्च रक्तचापकी बिरामी हुन् । दुई छोरा र एक छोरीलाई पनि त्रिपालमा रुघाखोकी, ज्वरो र झाडापखालाले दुःख दिइरहेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)