१०० एमबीपीएस वा त्यसमाथिका इन्टरनेट प्याकेज लिनेलाई टेलिकमले विश्वकप फुटबल निःशुल्क देखाउने
techpana.com · Mon Jun 08 12:37:40 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ टिभी प्याकेज र बोनस अफर सार्वजनिक गरेको छ । विश्व खेलकुदको महाकुम्भलाई मध्यनजर गर्दै टेलिकमले आफ्ना आईपीटिभी ग्राहकका लागि यो प्याकेज ल्याएको हो ।
यस प्याकेज अन्तर्गत ग्राहकले ९९९ रुपैयाँमा विश्वकपका खेल हेर्न सक्नेछन् ।
एनटीटिभी ग्राहकले आफ्नै टेलिभिजन सेटबाट यो प्याकेज चलाउन सक्नेछन् । यसका लागि ग्राहकले टेलिभिजनमा ‘हिमालय स्पोर्ट्स’ च्यानल छनोट गर्नुपर्नेछ । च्यानल छनोट गर्नासाथ स्क्रिनमा एउटा छुट्टै ‘इन्ट्री स्क्रिन’ देखिनेछ, जहाँ ग्राहकले आफ्नो नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर राख्नुपर्ने हुन्छ ।
मोबाइल नम्बर राखेपछि प्राप्त हुने ओटीपी कोडलाई टिभी स्क्रिनमा इन्टर गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा हुनेछ र प्याकेज एक्टिभेट हुनेछ । यसका साथै, ग्राहकले आफ्नो नजिकैको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रमा गएर पनि यो प्याकेज सक्रिय गराउन सक्ने बताइएको छ ।
टेलिकमले इन्टरनेट प्रयोगकर्ताका लागि बोनस अफर पनि ल्याएको छ । आगामी २६ जेठदेखि ३ साउनसम्म वार्षिक १०० एमबीपीएस वा सोभन्दा बढी गतिको ‘Internet with Premium IPTV’ प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा सोभन्दा कम गतिको प्याकेजबाट १०० एमबीपीएस वा माथिको प्याकेजमा अपग्रेड हुने ग्राहकले विश्वकप टिभी प्याकेज बोनसका रूपमा निःशुल्क प्राप्त गर्नेछन् ।
यो बोनस प्याकेज प्राप्त गर्न योग्य ग्राहकले आफ्नो मोबाइलबाट *1416# डायल गर्नुपर्ने टेलिकमले जनाएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २५, २०८३ १८:२२
टिप्पणीहरू
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)